काठमाडौं । त्यसै अरू खेलले फुटबलसँग ईर्ष्या गर्ने होइन्, यो फुटबल भन्नु नै यस्तो । जे जस्तो भए पनि यसकै चर्चा हुने गर्छ । वर्ष ०७८ पनि धेरै अर्थमा फुटबलमय रह्यो । वर्षको सुरुदेखि अन्त्यसम्म फुटबलमा केही न केही भइरहे, राम्रो पनि नराम्रा पनि । यो खेलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा रहेका होस अथवा पुरुष टिमका मुख्य प्रशिक्षक, फेरि अथवा खेलाडी नै सही धेरै पात्रहरू चर्चामै रहे । साँच्चै नेपाली फुटबलले यो वर्षलाई कसरी सम्झने त ?
सबैभन्दा मैदान भित्रकै कुरा । मैदान भित्रको सबैभन्दा ठूलो उपलब्धि रह्यो, नेपाल माल्दिभ्समा भएको साफ च्याम्पियनसिप २०२१ को फाइनल पुग्नु । दक्षिण एसियाली फुटबलको यो सर्वोच्च प्रतियोगिता कस्तो भने यसमा नेपाल यस अगाडि कहिले पनि फाइनल पुग्न सकेको थिएन् । केही राम्रो गर्न खोजे पनि सेमिफाइनल मै रोकिने । तर यसपल्ट नेपालले यो खड्को काट्न सफल रह्यो । नेपालले सुरुमै माल्दिभ्सलाई उसकै घरमा हरायो, लगतै श्रीलंकालाई पनि पन्छायो ।
निर्णायक खेलमा नेपालले बंगलादेशलाई पनि बराबरीमा रोकेको थियो । खालि भारतलाई मात्र हराउन सकेन्, चाहे त्यो लिग चरणमा होस अथवा फाइनलमै । यही प्रतियोगिता सँगसँगै कोही एक पात्र अत्याधिक चर्चामा रहे भने त्यो मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी रहे । किन हो, यी कुवेती प्रशिक्षकलाई सधैं चर्चामै रहनु पर्ने । कतै उनको यही बानीले समग्रमा नेपाली खेलाडीको प्रदर्शन त ओझेलमा परेन् ? यसको उत्तर धेरै हदसम्म ‘हो’ नै हो ।
घरेलु फुटबलमा भने मछिन्द्र नयाँ शक्तिका रूपमा आफूलाई स्थापित गर्न सफल रह्यो । मछिन्द्रले दुई वर्ष अगाडि पनि सहिद स्मारक लिग ए डिभिजनको उपाधि जितेको थियो । वर्ष ०७८ मा पनि यो सफलतालाई दोहराउन सफल रह्यो । त्यस अर्थमा मछिन्द्र सबैभन्दा ठूलो शक्ति रह्यो । तर यही बेला पुराना तीन शक्ति मनाङ मर्स्याङ्दी, थ्री स्टार र पुलिस भने सेलाए । विशेषतः पुलिस अब त्यस्तो रहेन्, जस्तो यो पहिले हुने गर्थ्यो, निकै नाजुक भएको भएको पुलिस फुटबल ।
महिला फुटबलका लागि भने वर्ष ०७८ खासै सुखद रहने भन्दा हुन्छ र यसको कारण हो, नेपाली फुटबलले त्यस्तो एउटा वास्तविकतासँग आत्मसात् गर्नु पर्यो, जसले भन्छ, अब दक्षिण एसियाली महिला फुटबल नेपालको पकड अब कमजोर भएको छ । यस अगाडि नेपालको स्थिति प्रत्येक अवस्थानमा दोस्रो थियो, नेपाल नै त्यस्तो टिम थियो, जसले भारतलाई चुनौती दिन सक्थ्यो । तर अब नेपालले यही दोस्रो स्थानका लागि भने बंगलादेशसँग प्रतिस्पर्धा गर्ने पर्ने भएको छ ।
साफ च्याम्पियसपन यू-१९ र यू-१८ को नतिजाले स्पष्ट रूपमा यही भन्छ । जहाँसम्म मैदान बाहिरको कुरा छ, एन्फाको निर्वाचन नजिकैछ । त्यसकै असर एन्फामा धेरै अगाडिदेखि सुरु भइसकेको थियो । वर्ष ०७८ मा त त्यो उत्कृर्षमै पुग्यो भन्दा हुन्छ । अहिले एन्फामा स्पष्ट कित्ताकातको स्थिति छ, एकतर्फ छन् अध्यक्ष कर्माछिरिङ शेर्पा, अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ । चार वर्ष यी दुई गुट एकै स्थानमा थिए, ‘चेन्ज एन्फा’ को नाममा ।
मैदान बाहिरको यो चुनावी प्रतिस्पर्धालाई धेरै हदसम्म स्विकार्न पनि सकिन्छ, किन भने यस्तो स्वभाविक छ । तर दुःख के भन्दा यसमा मुख्य प्रशिक्षक अल्मुताइरी पनि मुछिए । अनि यसले मैदान भित्रको फुटबल पनि प्रभावित हुन थालेको छ, यो भने ठूलै समस्या रह्यो । यसबीच नेपाल सुपर लिग (एनएसएल) ले पनि नेपाली फुटबलमा चर्को विवाद निम्त्याउने काम गर्यो । विवाद बढ्दै गए पछि यसले क्लबविरुद्ध एनएसएलको रूप पनि लियो ।
फुटबलको एउटा सर्वोमान्य मान्यता के छ एउटा देशमा एउटै लिग हुन्छ, दुई वटा हुन्न । कोही कसैले फुटबलमा असाध्यै विकास भएका देशमा दुई परस्पर विरोधी लिग भएको सुन्न परेको छ र ? छैन् । हो, कसैले भारतको उदाहरण दिन सक्छ । तर यसले भारतीय फुटबलमा के नै गर्यो ? गर्यो त यस्तै विवाद, अनि फुटबलको परम्परालाई तोड्ने काम । नेपाली फुटबल कहिले पनि यस्तो विवादमा फस्नु ठीक हुन्न । वर्ष ०७८ ले नेपाली फुटबललाई भन्न खोजेको यही हो ।