काठमाडौं । ललित महानगरपालिकाले पाँच 'ए' डिभिजन क्लबसहित ११ क्लबलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
ललितपुर महानगरपालिकाले शनिबार पाँच 'ए' डिभिजन क्लब, चार 'बि' डिभिजन क्लब र दुई 'सी' डिभिजन क्लबलाई कुल ३२ लाख आर्थिक सहयोग प्रदान गरेको हो । महानगरपालिकाले हरेक बर्ष सहयोग गर्ने समेत जनाएको छ ।
महानगरपालिकाले ललितपुरका पाँच 'ए' डिभिजन क्लब थ्री स्टार, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबलाई समान ४/४ लाख प्रदान गरेको हो । त्यसबाहेक महानगरपालिकाले थ्री स्टारलाई मोफसलको ७ प्रतियोगितामा सहभागी भएवापत २८ लाख नगद प्रदान गरेको छ ।
तर, थ्री स्टार बाहेकका अन्य चार 'ए' क्लबले भने आर्थिक सहयोगमा विभेद रहेको भन्दै बहिस्कार गरेका छन् । अन्य चार क्लबलाई ४ लाख दिएको तर थ्री स्टारलाई २८ लाख दिएको भन्दै चार क्लबले बहिस्कार गरेका हुन् । कार्यक्रममा चार क्लबमा पदाधिकारीहरु उपस्थित भएनन् ।
यस्तै महानगरपालिकाले 'बि' डिभिजनका सातदोबाटो युथ क्लब , खुलमलटार युथ क्लब, जम्सिखेल युथ र पुल्चोक युथ क्लबलाई समान ३/३ लाख उपलब्ध गराएको छ ।
त्यस्तै 'सी' डिभिजनका दुई क्लब खालीबारी युथ क्लब र सानेपा युथ क्लबलाई समान २/२ लाख प्रदान गरेको छ ।
यस्तै महानगरले नेपाली फुटबलमा सहकार्य गर्ने उद्धेश्यले अखिल नेपाल फुटबल संघ (एन्फा) संग समेत सम्झौता गरेको छ ।