काठमाडौं । घरेलु भूमीमा साफ यू-१५ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाल सेमिफाइनलमा पाकिस्तानसंग पराजित हुन पुग्यो ।
एन्फा कम्प्लेक्समा सुरुवाती मिनेटबाटै खेलमा पकट बनाउन नसकेको नेपालले पाकिस्तानसंग ४ - ० को हार व्यहोर्यो । जसको फलस्वरूप नेपाल सेमिफाइनलमै रोकियो ।
खराब प्रदर्शनपछि सेमिफाइनलमा रोकिएको नेपालले आज (शनिबार) तेस्रो स्थानका लागि भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल बिहान १०:३० मा सुरु हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मैदान उत्रदा नेपालको लक्ष्य तेस्रो स्थान हासिल गर्नु हुनेछ । साबिकको विजेता भारत पनि तेस्रो स्थानमा रहन प्रयास गर्नेछ ।
प्रतियोगितामा नेपालको जस्तै भारतको लय उच्च देखिएको छैन । त्यसैले उपाधि दावेदारीको रुपमा हेरिएका नेपाल र भारत सेमिफाइनलमा रोकिन पुगे । तर, तेस्रो स्थानको लागि मैदान उत्रदा दुवै टोली सेमिफाइनलको गल्ती सुधार गर्ने तयारीमा हुनेछन् ।
समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्धको जित नै नेपालको एक मात्रै जित रह्यो । माल्दिभ्सविरुद्ध ४–० को सानदार जित निकालेको नेपालले दोस्रो खेलमा १० खेलाडीमा सिमित बङ्गलादेशसँग २–१ गोल अन्तरले पराजित भयो । तर, समूह उपविजेता हुँदै नेपाल सेमिफाइनल प्रवेश गरेको थियो ।
भारतको नतिजा पनि नेपालकै जस्तो रह्यो । पहिलो खेलमै पाकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको भारत अन्तिम खेलमा भुटानमाथि जित निकाल्दै सेमिफाइनल पुगेको थियो ।
प्रतियोगिताको फाइनलमा आजै पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल अपरान्ह २:३० मा सुरु हुनेछ ।