एजेन्सी । फुटबलमा करियर खोजिरहेका ट्रयाक एण्ड फिल्डका चर्चित धावक उसेन बोल्टले अष्ट्रेलियाको शीर्ष डिभिजन क्लब सेन्ट्रल कोष्ट मरिनर्ससंगको प्रशिक्षण अन्त्य गरेका छन् ।
आठ पटकको ओलम्पिक च्याम्पियन ३२ बर्षिय बोल्टले क्लबसंगको चार महिना लामो प्रशिक्षण यात्रा शुक्रबारबाट टुंगाएका हुन् ।
क्लबसंगको प्रशिक्षण अन्त्य गरेपछि ३२ बर्षिय बोल्टले क्लबको सहयोग प्रति आभारी रहेको बताउदै क्लबको सफलताका लागि शुभकामना दिएका छन् ।
'मलाई न्यानो सत्कारको लागि सेन्ट्रल कोष्ट मरिनर्सका संचालक, स्टाफ, खेलाडी र समर्थकहरुलाई धेरै धन्यवाद,' बोल्टले भनेका छन्, 'क्लबको सफलताको लागि शुभकामना व्यक्त गर्दछु ।'
बोल्टले मरिनर्समा आठ साता लामो प्रशिक्षण गरेका थिए । बोल्ट गत अगष्टमा मरिनर्समा आएका थिए ।
बोल्टले मैत्रीपूर्ण खेलमा मरिनर्सका लागि गोल समेत गरेका थिए । गत महिना बोल्टले मैत्रीपूर्ण खेलमा म्याकर्थर साउथ वेष्टविरुद्ध दुई गोल समेत गरेका थिए ।
यस्तै क्लबले बोल्टलाई अनुबन्धको लागि प्रस्ताव समेत गरेको थियो ।
गत बर्षको अगस्टमा विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए । ह्यामस्ट्रिंङ्ग भएपछि लण्डनमा सम्पन्न च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल भएका थिए । उनले कास्य पदक मात्र जितेका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।