काठमाडौं । भुटानमा सम्पन्न साफ यू-१८ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोली नगदसहित सम्मानित भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपाली टोलीलाई नगदसहित सम्मान गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाले उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही ५० हजार नगदले सम्मान गरेको हो ।
नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशब कुमार बिष्ट लगायतले खेलाडीलाई सम्मानित गरेका थिए ।
प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसंग पराजित हुँदै उपविजेता बनेको थियो । त्यसअघि सेमिफाइनलमा भारतलाई हराउदै नेपालले फाइनलमा स्थान पक्का गरेको थियो । तर, फाइनलमा नेपाली टोली बंगलादेशसंग १–० ले पराजित भएको थियो ।
त्यस्तै थाईल्याण्डमा सम्पन्न एएफसी यू-१९ च्याम्पियनसिप छनोटमा उपविजेता बन्दै दोस्रो चरणमा पुगेको नेपाली टोलीलाई पनि एन्फाले पुरस्कार दिने भएको छ । एन्फाले शुक्रबार यू-१९ टोलीलाई नगदसहित पुरस्कृत गर्ने जनाएको हो । तर, कति रकम दिने भन्नेबारे एन्फाले पछि निर्णय गर्ने जनाएको छ ।