काठमाडौं । जापानमा हुने ओलम्पिक खेलकुदका लागि एसियन छनोट खेल्न नेपाली टोली चीनबाट म्यानमार प्रस्थान गरेको छ ।
चीनमा अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टोली शुक्रबार म्यानमार गएको हो । चीनमा नेपालले तीन मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा दुई खेलमा हार र एक जित निकालेको थियो ।
यस्तै यू-१९ टोलीका तीन खेलाडी नेपालबाट सिनियर टोलीमा सहभागी हुन शुक्रबार म्यानमार गएका छन् । अन्जना राना मगर, सरु लिम्बु र मञ्जली कुमारी योञ्जन म्यानमार गएका हुन् । उनीहरु थाइल्याण्डमा सम्पन्न एसीसी यू-१९ महिला च्याम्पियनसिपको नेपाली टोलीमा रहेका थिए ।
ओलम्पिकका लागि एसिया छनोटमा नेपाल समूह 'सी' मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र म्यानमार रहेका छन् ।
नेपालले नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसंग खेल्नेछन् ।
ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह 'ए' र 'बी' मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह 'सी' र 'डी' मा चार चार टोली रहेका छन् ।
प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।