एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएन पुनः मैदान बाहिर रहने भएका छन् । काराबाओ कप फुटबलको दौरान घाइते भएपछि प्ले मेकर ब्रुएन मैदान बाहिर रहने भएका हुन् ।
बिहिबार राति घरेलु मैदानमा फुलहमलाई २ - ० ले हराएको खेलमा ब्रुएन घाइते भएका थिए । सिटीको जितमा उनले निकै उत्कृष्ट प्रदर्शन समेत गरेका थिए । तर, खेलको ८६ औं मिनेटमा ब्रुएन मैदानबाट बाहिरिएका थिए । उनको इन्जुरीबारे मेडिकल रिपोर्टपछि मात्र जानकारी हुने बताईएको छ ।
'उनलाई डाक्टरले जाँच गरिरहेको छ,' ब्रुएनको इन्जुरीबारे प्रशिक्षक पेप ग्वार्डीवालाले भनेका छन्, 'हामीलाई केहि जानकारी छैन । उनको इन्जुरी सामान्य पनि हुन सक्छ, केहि गम्भीर पनि ।'
बेल्जियमका २७ बर्षे ब्रुएन यसै साता मात्र मैदान फर्किएका थिए । घुँडाको लिगामेन्ट इन्जुरीका कारण ब्रुएन दुई महिना मैदान बाहिर रहेका थिए ।
इन्जुरीबाट मुक्त भएपछि सिटीका लागि ब्रुएनको यो दोस्रो खेल थियो । तर, मैदानमा पूर्ण रुपमा जम्न नसक्दै ब्रुएन घाइते भएका छन् ।