काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुगेको नेपाली यू-१९ महिला टोली सम्मानित भएका छन् । छनोटको दोस्रो चरणमा पुगेर इतिहास बनाएको भन्दै नेपाली टोलीलाई इङ्लिस प्रिपरेटरी स्कुल (इपिएस)ले सम्मान गरेको हो ।
हालै थाइल्यान्डमा भएको छनोट प्रतियोगितामा नेपाल समूह उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपाली टोलीलाई इपिएस स्कुलकी प्रिन्सिपल प्रमिला सिंहले सम्मानित गरेका थिए ।
प्रतियोगितामा घरेलु टिम थाइल्यान्ड, भारत र नेपाल तीन खेलबाट समान दुई जितसहित ६–६ अङ्क जोडेको थियो । यद्यपि गोलअन्तरको आधारमा थाइल्यान्डले शीर्ष र नेपालले दोस्रो स्थान हात पारेको थियो । भारत तेस्रो स्थानमा खुम्चिन बाध्य भयो । पाकिस्तान पुछारमा रह्यो ।
यस छनोट प्रतियोगिताबाट समूह विजेता स्वतः उत्कृष्ट उपविजेता अर्को चरणमा पुग्ने प्रावधान छ । तर, फाइनल चरण थाइल्यान्डमै हुने भएकोले समूह बीमा थाइल्यान्ड समूह विजेता भएमा यस समूहको उपविजेता हुने राष्ट्र विजेताको रुपमा दोस्रो चरण पुग्ने प्रावधानअनुरुप नेपाल अर्को चरणमा पुगेको हो ।