काठमाडौं । नेपाल घरेलु मैदानमा जारी चौथो संस्करणको यू–१५ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ ।
बिहिबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानसंग ४ - ० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा पहिलो हाफमा पाकिस्तानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा ४ गोल खादै प्रतियोगिताबाट बाहिरिएको हो ।
१० खेलाडीमा सिमित नेपालविरुद्ध पाकिस्तानलाई जित दिलाउन मोहीब इल्लाहले दुई गोल गर्दा मोइन अहमेदले एक गोल गरे । पाकिस्तानले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पाकिस्तानले खेलको ५४ औं मिनेटमा जान लिम्बुको आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । इफ्तिखर अहमेदले प्रहार गरेको बल लिम्बुलाई लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसपछि पाकिस्तानले लगातार दुई पेनाल्टी पायो । खेलको ६० औं मिनेटमा जान लिम्बुले लडाएपछि पाएको पेनाल्टीमा उल्हाहले गोल गर्दै पाकिस्तानलाई २ - ० को अग्रता दिलाए । यस्तै ५८ मिनेटमा जान लिम्बुले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भयो ।
खेलको ६९ मिनेटमा पाकिस्तानले पुन: पेनाल्टी पायो । नेपालका निवास फुयालले पाकिस्तानी खेलाडीलाइ डि एरीयामा लडाएर पाएको पेनाल्टीमा उल्हाहले नै गोल गर्दै पाकिस्तानलाई ३ - ० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा अहमेदले एक गोल गर्दै पाकिस्तानलाई ४ - ० को जित दिलाए ।
अब पाकिस्तानले फाइनलमा बंगलादेशसंग खेल्नेछ । बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ४ - २ ले हराएर फाइनल यात्रा तय गरिसकेको छ ।
नेपालले भने तेस्रो स्थानको लागि भारतसंग खेल्नेछ ।