काठमाडौं । घरेलु मैदानमा जारी चौथो संस्करणको यू–१५ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले भोलि (बिहिबार) बलियो टोली पाकिस्तानसंग खेल्दैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले अपरान्ह २:३० बजे पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य फाइनल पुग्ने रहेको छ ।
सेमिफाइनलअघि नेपाली टिमका प्रशिक्षक सनोज श्रेष्ठले पाकिस्तानलाई हराएर फाइनल पुग्ने खेलपाटीलाई बताए ।
'हामी भोली रणनीति परिवर्तन गर्छौ । पाकिस्तानको खेलाडी धेरै हाइटका छन् । हामी ग्रासबल खेलेर फाइनल पुग्न चाहन्छौं,' प्रशिक्षक श्रेष्ठले भने ।
नेपाललाई आयोजकसँगै घरेलु समर्थकको साथले उपाधि दाबेदार मानिएको छ । यस प्रतियोगितामा नेपाल दुई पटकको उपविजेता समेत हो । तर, प्रतियोगितामा नेपालले सोचेको जस्तो प्रदर्शन गर्न सकेको छैन ।
पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको नेपालले दोस्रो खेलमा १० खेलाडीमा सिमित बंगलादेशसंग २–१ को हार बेहोरेको थियो ।
यता, पाकिस्तान प्रतियोगितामा निकै बलियो देखिएको छ । प्रतियोगिताको अपराजित र सरप्राईज टोलि हो, पाकिस्तान ।
प्रतियोगिताको सुरुवाती खेलमा चिरपरिचित भारतलाई २–१ हराएको पाकिस्तानले दोस्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको थियो ।
प्रतियोगितामा एक मात्रै बिदेशी प्रशिक्षक पाकिस्तानकै रहेको छ । पाकिस्तानले ब्राजिलियन प्रशिक्षकको साथ पाएको छ । र,पाकिस्तान पनि फाइनल पुग्ने लक्ष्य सहित मैदान उतार्ने छ ।
तर, प्रशिक्षक श्रेष्ठले अघिल्ला खेलको गल्ती सुधार्दै पाकिस्तानलाई हराएर फाइनल खेल्न आतुर रहेको बताउछन् ।
'सुरुवाती दुई खेलमा हाम्रो जुन गल्ती छ त्यसलाई दोहोर्याउने छैनौं,' श्रेष्ठले थपे, 'हामी फाइनल खेल्नको लागी आत्तुर छौं ।'
यस्तै बिहिबार नै हुने पहिलो सेमिफाइनलमा भारतले बंगलादेशको सामना गर्नेछन् । उक्त खेल एन्फा कम्प्लेक्समा बिहान साँढे १० बजे सुरु हुनेछ ।
समूह चरणका दुवै खेल जितेको बंगलादेश प्रतियोगिताको दाबेदार राष्ट्र हो । बंगलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ९–० को गोल अन्तरले पराजित गरेको थियो भने नेपाललाई २–१ गोल अन्तरले हराएको थियो ।
दुई पटकको विजेता भारतले यसपटक भने राम्रो गर्न सकेको छैन । भारत पहिलो खेलमा पाकिस्तानसंग २–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।