पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाईटन्सले पहिलो जित निकालेको छ ।
बुधबार भएको रोमान्चक खेलमा विराटनगरले सोमपाल कामीको बुटवल ब्लास्टर्सलाई १२ रनले हराएको हो । लगातार तीन खेलको हारपछि विराटनगरको यो पहिलो जित हो । जितसंगै विराटनगर ४ खेलबाट २ अंक जोडेर लिगको पुछारमा छ । विराटनगर पहिलो खेलमा पोखरा पल्टन, दोस्रोमा एक्स्पर्ट धनगढी ब्लुज र तेस्रो खेलमा हुलास काठमाडौं रोयल्ससंग पराजित भएको थियो ।
पोखरा रंगशालामा विराटनगरले दिएको १४१ रनको लक्ष्य पछ्याएको बुटवलले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाउन सक्यो । अन्तिम ओभरमा बुटवललाई जितका लागि १३ रन आवश्यक रहदा विराटनगरका बलर किशोर महतोले अन्तिम ओभरमा मेडन विकेट लिंदै टोलीलाई जित दिलाए । उनले अन्तिम ओभरको दोस्रो बलमा सिद्दान्त लोहनीलाई आउट गरेका थिए ।
बुटवलका लागि भिम सार्कीले ५० रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सागर पुनले २९ रन जोड्दा शंकर रानाले २३ रन बनाए । विराटनगरका सन्दीप लामिछाने र किशोर महतोले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४० रन बनाएको थियो । खराब सुरुवात गरेको विराटनगरका लागि मोहमद जायद आलमले अर्धशतकीय इनिङस खेले ।
सुन्य रनमा पहिलो विकेट गुमाएको विराटनगरका लागि आलमले ७२ रनको योगदान दिए । यस्तै प्रदीप ऐरीले ४१ रन जोडे । आलम र प्रदीपले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।
अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बुटवलका ललित सिंह भण्डारीले २ विकेट लिए ।
प्रतियोगितामा बुटवलको यो पहिलो हार हो । बुटवलले २ खेलबाट ४ अंक जोडेको छ । र, बुटवल शीर्ष स्थानमा यथावत छ । बुटवलले पहिलो खेलमा बलियो टिम चितवन राइनोज र दोस्रो खेलमा पोखरा पल्टनलाई हराएको थियो ।