काठमाडौं । जापानमा हुने ओलम्पिक खेलकुदका लागि छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चीनमा भएको मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
मंगलबार भएको खेलमा नेपालले बेईजिङ स्पोर्टस युनिभर्सिटीलाई ३ - ० ले हराएको हो । नेपालको जितमा सावित्रा भण्डारी, दिपा न्यौपाने र इन्दिरा राईले एक एक गोल गरिन् ।
युनिभर्सिटीको मैदानमा खेलको १६ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि खेलको ५५ औं मिनेटमा दिपा र ८२ औं मिनेटमा इन्दिराले गोल गर्दै नेपाललाई जित दिलाईन् ।
अब नेपालले अन्तिम मैत्रीपूर्ण खेलमा भोली (बुधबार) बेईजिङ फोनिक्स महिला टिमसंग खेल्नेछ । सोमबार भएको पहिलो खेलमा नेपाल फोनिक्ससंगै ४ - १ ले पराजित भएको थियो ।
चीनमा मैत्रीपूर्ण खेलपछि नेपाली टिम छनोट खेल्न त्यहीबाट म्यानमार जाने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
ओलम्पिकका लागि एसिया छनोटमा नेपाल समूह 'सी' मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र म्यानमार रहेका छन् ।
नेपालले नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसंग खेल्नेछन् ।
ओलम्पिकका लागि पहिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह 'ए' र 'बी' मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह 'सी' र 'डी' मा चार चार टोली रहेका छन् ।
प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।