पोखरा । शरद ऋतु, गर्मीको समाप्ति र चिसो मौषमको सुरुवात ।
बिहान हल्का ओसिलो, दिउँसो घमाइलो । खुल्ला आकाश, आँखै अगाडी चम्किलो माछापुच्छ्रे, दायाँ बायाँ अन्नपूर्ण ।
बिहानीको मिर्मिरेसंगै सुर्यास्तसम्म माछापुच्छ्रे र अन्नपूर्णको अनेकौ रुप । काखमा सोभा बढाउने फेवाताल । फेवातालको किनारा नजिकै पोखरा क्रिकेट रंगशाला ।
त्यहिँ मैदानमा 'ब्याटिङ र बलिङ' । समर्थनको हुटिङ । क्रिकेट खेलको प्रतिस्पर्धा ।
यो कुनै एनिमेसन (काल्पनिक) खेलको पृष्टभूमि हैन । यो पोखरामा जारी पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको वास्तविकता हो ।
यहिँ वास्तविकतामा ६ क्रिकेट टिम प्रतिस्पर्धामा रमाईरहेका छन् । प्रकृतिको सुन्दर अनुपममा खेलाडीले ब्याट र बल उठाईरहेका छन् । काल्पनिक मैदानमा खेलेजसरी ।
यस अवसर क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले जुराईदिएको हो । पीपीएल आयोजनाका लागि क्विन्सले लामो प्रयत्नपछि सुन्दर मैदानलाई खेल्न योग्य बनाएको हो । सबैको मन लोभ्याउने बनाएको हो ।
तस्विर : सुदर्शन रञ्जित
पीपीएलकै कारण खेलाडीले सुन्दर मैदानमा खेल्ने अवसर पाएका छन् । क्रिकेट समर्थकले सुन्दर मैदानमा क्रिकेटको मज्जा लुटिरहेका छन् । पीपीएलले देशी विदेशी खेलाडी र समर्थकको मन लोभ्याएको छ ।
पीपीएलको लोभ्याईमा पर्नेमा युएईका कप्तान रोहन मुस्ताफा पनि एक हुन् । पीपीएल टिम बुटवल ब्लासटर्सबाट खेलिरहेका मुस्तफा भन्छन्, 'यो निकै ठूलो प्रतियोगिताको हो र यहाँको मैदान निकै सुन्दर छ । विशेषगरी यहाँ भव्य दर्शकको सहभागिता छ । पोखरामा आएर खेल्न पाउनु ठुलो कुरा हो ।'
पीपीएल र मैदानको सुन्दरताले लट्ठिएका मुस्ताफालाई यस ठाउमा अन्तर्राष्ट्रिय खेल खेल्न मन समेत छ । मौका पाउनेमा उनी आशावादी पनि छन् । 'यो उत्कृष्ट मैदान हो । यहाँ खेल्ने मौका पाए हामी आउनेछौं,' मुस्तफाले भने ।
पीपीएल अन्तर्गत पहिलो चरणको सकिएको छ । पहिलो चरण खेल सकिदा बुटवल ब्लासटर्स शीर्ष स्थानमा र पोखरा पल्टन दोस्रो स्थानमा छ । हुलास काठमाडौं रोयल्स तेस्रो र एक्स्पर्ट धनगढी ब्लुज चौथो स्थानमा रहदा विराटनगर टाईटन्स पाँचौ र चितवन राइनोज पुछारमा छ ।
पहिलो चरणको खेल सकिदा धनगढीका पिटर ट्रेग्रो पीपीएल र मैदानको सुन्दरताबाट प्रभावित छन् ।
'नेपालमा उत्कृष्ट अनुभव रह्यो । यहाँ हिमालहरुको अगाढी क्रिकेट खेल्दा निकै रमाइलो लागेको छ,' पहिलो श्रेणीको क्रिकेट खेलिसकेका ट्रेग्रो भन्छन्,'मेरो लागि यो सुन्दर मौका हो ।'
पहिलो संस्करणको पीपीएल आयोजनाबाट आयोजकहरु समेत निकै सन्तुष्ट छन् । खेलाडी र समर्थकहरुबाट सकारात्मक प्रतिक्रियाले आयोजकको मनोबल उच्च बनाएको छ ।
'यस्तो प्राकृतिक र सुन्दर मैदानमा खेल्ने मौका पहिले नपाएको खेलाडीको भनाई छ,' आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले भने, 'खेलाडी र समर्थक सबैबाट धेरै राम्रो प्रतिक्रियाहरु आएको छ ।'
तस्विर : सुदर्शन रञ्जित
आयोजकले यस क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेलका लागि वैकल्पिक मैदानको रुपमा स्थापित गराउने योजना नै बनाएको छ ।
'यस मैदानलाई पीपीएलका लागि मात्र हैन । नेपालमा क्रिकेट मैदानको अभाव खड्किरहेको अवस्थामा यस मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेलाउन मिल्ने बनाउने तयारी छ,' प्रबन्ध निर्देशक लामाले भने ।
तस्विर : सुदर्शन रञ्जित
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यस मैदानलाई अन्तर्राष्ट्रिय खेल मैदानको रुपमा विकास गर्ने योजना बनाएको बताएका छन् । मन्त्री गुरुङले यस मैदानमा भारत र पकिस्तानबीचको खेल हेर्ने चाहना भएको बताए ।
प्रतियोगिताको उद्घाटन दौरान मन्त्री गुरुङले भने, 'गण्डकी प्रदेशमा पनि क्रिकेटको संभवाना छ । हामी यस मैदानमा भारत र पकिस्तानबीचको खेल खेलाउन योग्य मैदान बनाउन जोड दिनेछौ । त्यसका लागि हामीले गृहकार्य थालिसकेका छौं ।'
यहिँबीचमा आईसिसी विश्वकप ट्रफी पोखरामा प्रदर्शनी गरियो । विश्व टुर अन्तर्गत चारदिने नेपाल भ्रमणको क्रममा माछापुच्छ्रे र अन्नपूर्णको आगनीमा विश्वकप ट्रफी आउनु आफैमा ठुलो उपलब्धि हो ।
प्रतियोगिता दौरान राष्ट्रिय टोलीका कप्तान पारस खड्का र बलर सन्दीप लामिछानेले ट्रफी सार्वजनिक गरेसंगै पीपीएलको सोभा थप उच्च बनेको थियो ।