एजेन्सी । वेष्ट इण्डिजविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारतले फराकिलो जित निकालेको छ । सोमबार भएको खेलमा भारतले वेष्ट इण्डिजलाई २२४ रनले हराएको हो ।
मुम्बईमा भारतले दिएको ३७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ३६ ओभर २ बलमा अलआउट हुँदै १५३ रनमा समेटियो ।
वेष्ट इण्डिजका जासन होल्डरले अविजित ५४ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै केमो पाउलले १९ रन जोड्दा मार्लोन स्यामुएल्सले १८ रन जोडे । वेष्ट इण्डिजलाई सस्तैमा रोक्न भारतका खलीलल अहमेद र कुलदिप यादवले समान ३/३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा ५ विकेट गुमाएर ३७७ रन जोडेको थियो । भारतको उच्च योगफलमा रोहित शर्मा र अम्बाती रायडुले शतकीय इनिङस खेले । रोहितले १६२ रनको योगदान गर्दा रायडुले १०० रनको योगदान दिए ।
यस्तै शिखर धवनले ३८ रन जोड्दा महेन्द्र सिंह धोनीले २३ तथा कप्तान विराट कोहलीले १६ रन जोडे । वेष्ट इण्डिजका केमर रोचले २ विकेट लिए ।
जितसंगै भारत पाँच खेलको सिरिजमा २ - १ को अग्रता बनाएको छ । यसअघि पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल बराबरी भएको थियो । तेस्रो खेल भने वेष्ट इण्डिजले जितेको थियो ।