पोखरा । सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चितवन राइनोजविरुद्ध जित निकालेपनि खेलमा धेरै गल्तीहरु भएको घरेलु टोली पोखरा पल्टनका कप्तान शरद भेषवाकरले बताएका छन् ।
पोखरा रंगशालामा सोमबार भएको तेस्रो खेलमा पोखराले चितवन राइनोजलाई ५ विकेटले हराएको थियो । खेलपछि कप्तान शरदले गल्तीमा पनि खेल जितेको तर आगामी खेलमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
'गल्ती गरीगरी हामीले जित्यौँ । त्यसमा खुसी छौं,' कप्तान शरदले भने, 'तर, आगामी खेलमा यो गल्ती दोहोर्याउनु हुँदैन् ।'
कप्तान शरदले टोलीको फिल्डिङमा गल्ति भएको बताए । तर, उनले टोलीको जितमा रबि इन्दर सिंह र रोहितको प्रदर्शन उच्च रहेको बताए ।
'आजको जित भनेको रबि र रोहित साझेदारीले खेल परिवर्तन भयो । बलिङ राम्रो भएको हो । हाम्रो फिल्डिङ नराम्रो भयो । लुकाउनु पर्ने ठाउ नै छैन्,' कप्तान शरदले भने ।
चितवनविरुद्ध रबि र रोहितले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए । रबिले ६५ रनको अर्धशतकीय इनिङस खेल्दा रोहितले १९ रन बनाएका थिए ।
तर, खेलमा पोखराका फिल्डरले चितवनका धेरै ब्याट्सम्यानहरुको क्याच समात्न सकेका थिएन् । चितवनका सोनु तामाङ २ पटक क्याच आउट हुनबाट जोगिएका थिए ।
यस्तै कप्तान शरदले टोलीको पहिलो लक्ष्य शीर्ष तीनमा पर्ने र फाइनल जित्ने रहेको बताए ।