पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट टिम चितवन राइनोजका कप्तान पारस खड्काले तेस्रो खेलबाट पुनरागमन गर्ने बताएका छन् ।
पीपीएल अन्तर्गत सोमबार घरेलु टोली पोखरा पल्टनसंग ५ विकेटले पराजित भएपछि कप्तान पारसले आगामी खेलबाट खेलमा फर्कने बताएका हुन् ।
'हामीले राम्रो गरेको हो । सुरुवात राम्रो भएको थियो । हामी सक्दो प्रयास गरेका हौं, तर १४० रनले हामीलाई पुगेन,' कप्तान पारसले भने, 'दुई खेल हारेपनि ३ खेल जित्ने सम्भावना छ ।आशा हामी अर्को खेलबाट पुनरागमन गर्ने छौं ।'
पीपीएलमा यो चितवनको लगातार दोस्रो हार समेत हो । यो हारसंगै अंक बिहिन चितवन लिगको पुछारमा छ । र, चितवनको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्दै गएको छ ।
तर, कप्तान पारसले बाँकी तीन खेल जित्दै अघि बढ्ने बताए । 'सबै टिम उत्तिकै राम्रा छन् । पक्कै पनि हामी पछिल्लो खेलमा राम्रो गर्नेछौं,' कप्तान पारसले थपे ।
यसै उनले टिमका सबै खेलाडी राम्रो प्रदर्शन गरेको बताए ।
चितवनले अब बुधबार बुटवल ब्लासटर्ससंग खेल्नेछ । पहिलो खेलमा पनि चितवन बुटवलसंगै पराजित भएको थियो ।