पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेपछि हुलास काठमाडौं रोयल्सका कप्तान ज्ञानेन्द्र मल्लले उपाधि जित्न पोखरा आएको बताएका छन् ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा सन्दीप लामिछानेको विराटनगर टाईटन्सलाई ५ विकेटले हराएर ज्ञानेन्द्रको काठमाडौंले लगातार दोस्रो जित निकालेको थियो ।
जितपछि कप्तान ज्ञानेन्द्रले भने, 'दोस्रो जितबाट खुसी छौ । टिमको मनोबल बढेको छ । बाँकी ३ खेल कठिन छ । तर, हामी उपाधि जित्न नै पोखरा एक हौ ।'
यो जितसंगै २ खेलबाट ४ अंक जोडेको काठमाडौं लिगको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै कप्तान ज्ञानेन्द्रले आगामी खेलको लागि अझै राम्रो तयारी गर्ने बताए ।
'आगामी खेल अझै कठिन हुनेछ । जुन किसिमले अन्य टोलीले प्रदर्शन गरिरहेका छन् ,' कप्तान ज्ञानेन्द्रले भने, 'हामीले अझै राम्रो तयारी गर्नु पर्ने हुन्छ ।'
कप्तान ज्ञानेन्द्रले म्यान अफ दि म्याच बनेका गौरव तोमारको प्रदर्शनले टिम राम्रो बनेको बताए । तोमारले ६६ रनको अर्धशतकीय इनिङस खेलेका थिए ।
'गौरव राम्रो ब्याट्सम्यान हो । उसले खेललाई अन्तिमसम्म लैजान सक्छ । उसले राम्रो गरिरहेको छ,' कप्तान ज्ञानेन्द्रले थपे ।