पोखरा । हुलास काठमाडौं रोयल्सले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा सन्दीप लामिछानेको विराटनगर टाईटन्सलाई ५ विकेटले हराएर ज्ञानेन्द्र मल्लको काठमाडौंले लगातार दोस्रो जित निकालेको हो ।
पोखरा रंगशालामा विराटनगरले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंका लागि म्यान अफ दि म्याच गौरव तोमारले ६६ रनको अर्धशतकीय इनिङस खेले । उनले अमित श्रेष्ठसंग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । अमित ३५ रनमा आउट भए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १७ रन जोडे ।
विराटनगरका शाहब आलमले २ विकेट लिदा किशोर महतो, सन्दीप लामिछाने र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको विराटनगरका लागि मोहमद जायदले ६७ रनको अर्धशतकीय इनिङस खेले । यस्तै सुनील धमलाले ३० रन जोडे । जायद र सुनिलले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए ।
त्यस्तै राजेश पुलामी मगरले ३० रन जोडे । काठमाडौंका लागि शुसन भारी, बसन्त रेग्मी र गौरव तोमारले २/२ विकेट लिए ।
जितसंगै काठमाडौंले २ खेलबाट ४ अंक जोडेको छ । यसअघि पहिलो खेलमा काठमाडौंले एक्स्पर्ट धनगढी ब्लुजलाई हराएको थियो ।
विराटनगरको यो लगातार तेस्रो हार हो । हारसंगै विराटनगरको फाइनल वा एलिमीनेटरमा पुग्ने सम्भावना कमजोर बनेको छ ।
विराटनगर पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजसंग पराजित भएको थियो । विराटनगरले २ खेल खेल्दा अंक जोड्न सकेको छैन ।