काठमाडौं । थाईल्याण्डमा जारी एएफसी यू -१९ च्याम्पियनसिप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले फराकिलो जित निकाल्यो ।
थाईल्याण्डको चोनबरी रंगशालामा आइतबार नेपालले पाकिस्तानलाई ९–० गोल अन्तरले पराजित गर्यो । तर, नेपाली टोलीका प्रशिक्षक हरि ओं श्रेष्ठले टोलीले सोचेको जस्तो पर्दर्शन गर्न नसकेको र कम गोल गरेको बताएका छन् ।
'हामीले सोचेको जस्तो गोल गर्न सकेनौ । मेरो विचारमा एक कारण रेखा नखेल्नु समेत हो,' प्रशिक्षक श्रेष्ठले खेलपछि भने, 'खेलाडीले आफ्नो प्राकृतिक खेल खेल्न सकेनन् । खेलाडीहरु आफु गोल गर्ने मनसायमा देखिए ।'
पाकिस्तानविरुद्ध नेपालकाे फराकिलाे जितमा निशा थाेकरले ह्याट्रिक गरिन् । त्यस्तै पुजा रानाले दुई तथा मन्जली योन्जन,एलिसा जिम्बा, सरु लिम्बु र सम्झना लावतीले एक एक गोल गरिन् ।
जितसंगै नेपालले छनोटको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । छनोटको उपाधि थाइल्याण्डले जितेमा आयोजक थाइल्याण्ड सोझै छनोट हुने कारण नेपाल उपविजेताको हैसियतमा दोस्रो चरणमा पुग्नेछ ।
आगामी अप्रिलमा हुने दोस्रो चरणको छनोटमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसबाट ४ टोलीले एएफसी यू-१९ महिला च्याम्पियनसिप खेल्नेछ । एएफसी यू-१९ महिला च्याम्पियनसिप अर्को बर्ष थाइल्याण्ड मै आयोजना हुनेछ ।
यस्तै नेपाली टिमका प्रशिक्षक श्रेष्ठले जितसंगै नेपालको दोस्रो चरणको यात्रा तय भएको बताए । उनले दोस्रो चरणको छनोटका लागि तयारी गर्ने समेत उल्लेख गरे ।
'यो नतिजाले हामी सम्भवत दोस्रो चरणमा पुगेका छौ । दोस्रो चरणमा धेरै कठिन टोलीहरु हुनेछ । त्यसैले हामी कडा मिहिनेत गर्नेछौं ,' प्रशिक्षक श्रेष्ठले भने ।