रमेश सुवेदी ।
काठमाडौं । विभागीय टिम आर्मी ललित स्मृति यु १८ फुटबल च्याम्पियनसिपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । समुह चरणको तेस्रो खेलमा न्युरोड टिम एनआरटीलाई ४–१ ले गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीको जितमा सुसन लामा र विवेक चौधरीले उत्कृष्ट प्रर्दशन गरे । खेलको २१ औ मिनेटमा सुसन लामाको गोलबाट आर्मीले अग्रता लिएको थियो । त्यसको २ मिनेटपछि एनआरटीका सुजित पुडासैनीले खेल बराबरीमा ल्याएका थिए । आर्मीका तीन डिफेन्डरलाई छक्याउदै उनले उत्कृष्ट गोल गरे ।
त्यसपछि आक्रमक बनेको आर्मीका लागि २८ औ मिनेटमा सुसन लामाले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए । एकोहोरो खेलमा हाबी भएको आर्मीले ८५ औ मिनेटमा तेस्रो गोल थप्यो । विवेक चौधरीले विभागीय टिमका लागि तेस्रो गोल गरे ।
त्यसको तीन मिनेटपछि विवेकलेनै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।
जितसंगै आर्मीले तीन खेलबाट ९ अंक जोडेको छ । तालिकामा एनआरटीको ६ अंक छ ।