पोखरा । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौं रोयल्सले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको पहिलो खेलमा काठमाडौंले दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले हराएको हो ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा काठमाडौंले दिएको १८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६३ रन जोडन सक्यो ।
धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सन्दीप जोराले २७, पिटर टेग्रोले १९ र सौरभ खनालले १७ रन जोडे ।
काठमाडौंका अमर सिंह रौटेला, सुसन भारी र बसन्त रेग्मीले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १८० रन बनाएको थियो ।
काठमाडौका लागि म्यान अफ दि म्याच गौरव तोमारले ९५ रनको योगदान गरे । विस्फोटक ब्याटिङ गरेका तोमारले ४४ बलमा ४ चौका र १० छक्का प्रहार गर्दै अर्धशतकीय इनिङस खेले ।
यस्तै नरेश बुढाएरले अविजित ३६ रन जोड्दा जयकृषन कोल्शावालाले २५ रन जोडे । अमित श्रेष्ठले १२ रन जोडे ।
धनगढीका दिपेन्द्र सिंह ऐरी,पिटर ट्रेगो र डान लरेन्सले समान एक/एक विकेट लिए ।
जितसंगै काठमाडौंले महत्वपूर्ण २ अंक जोडेको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार विराटनगर र धनगढी तथा पोखरा बुटवलबीच खेल हुनेछ ।