काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निलम्बित कमिटिले अदालतमा दायर गरेको मुद्धा फिर्ता लिने औपचारिक निर्णय गरेको छ । क्रिकेट विवाद समाधान गर्न अदालतको मुद्धा फिर्ता लिन अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गरेको आग्रह अनुसार क्यानको निलम्बित कमिटिले मुद्धा फिर्ता लिने निर्णय गरेको हो ।
मुद्धा फिर्ताको औपचारिक निर्णय गर्न कमिटिले शनिबार दिउँसो क्यानको बोर्ड बैठक बोलाएको थियो । सोही बैठकले मुद्धा फिर्ताको सैद्धान्तिक सहमती गर्दै निर्णय गरेको छ ।
'मु्द्धा फिर्ता लिने प्रक्रिया हामीले अघि बढेको छ । बैठकले सैद्धान्तिक रुपमा मुद्धा फिर्ता लिने निर्णय गरेकाे छ ।' बैठकपछि महासचिव अशोक नाथ प्याकुरेलले खेलपाटीसंग भने ।
बैठकले क्रिकेट विवाद समाधानमा पहल गर्न पाँच सदस्यीय कमिटि समेत गठन गरेको छ । कमिटिमा अध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल र उपाध्यत्रय दिवाकर घले, सञ्जय राज सिंह र शैलेश चौधरी रहेका छन् ।
बैठकले बैशाख ६ मा क्यानको नयाँ विधान पारित भएपनि अहिलेसम्म क्रिकेट निलम्बनको प्रक्रिया अघि नबढ्नु दुखद रहेको भन्दै आईसीसीको ध्यानकर्षण गराउने निर्णय समेत गरेको छ । बैठकले क्यानकाे निलम्बन फुकुवा गर्नमा जाेड दिदै विवाद समाधानमा सहयाेगी भुमिका खेल्ने निर्णय गरेकाे छ ।
क्यानको नयाँ विधान बनेपछि आईसीसीले क्रिकेटको निकासका लागि मुद्धा फिर्ता र तदर्थ कमिटि भंगलाई पहिलो शर्त बनाउदै आएको छ ।