काठमाडौं । पाकिस्तान साफ यु–१५ च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले अन्तिम ४ मा स्थान पक्का गरेको हो । समुह चरणको दोस्रो खेलमा पाकिस्तानले शनिबार भुटानलाई ४–० गोल अन्तरले पराजित ग¥यो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएका खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको २४ औ मिनेटमा मुद्धसर नजरले गोल गर्दै पाकिस्तालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ३ मिनेटपछि इफ्तिखर अहमेदले पाकिस्तानको अग्रता दोब्बर पारे । ३३ औ मिनेटमा मोईन अहमेदले तेस्रो गोल थपे । पहिलो हाफको अन्तिम समयमा मोईनले व्यक्तिगत दोस्रो गोल गर्दै पाकिस्तानलाई फराकिलो जित दिलाए ।
पहिलो हाफमा कमजोर देखिएको भुटानले दोस्रो हाफमा सुधारिएको प्रर्दशन गरेको थियो । ५३ औ मिनेटमा पाकिस्तानले प्रहार गरेको बल भुटानका दोर्जे ग्यालसेनले रोकेका थिए ।
होचा कदका भुटानी खेलाडीले दोस्रो हाफमा उत्कृष्ट खेल पस्किएपनि गोल गर्न सकेनन् । अग्ला कदमा पाकिस्तानी खेलाडीको डिफेन्स तोड्न भुटानलाई गाह्रो भएको थियो ।
पहिलो खेलमा पाकिस्तानले बलियो प्रतिद्धन्दी भारतलाई २–१ ले हराएको थियो । समुह बीमा पाकिस्तानको ६ अंक जोडेको छ । भुटान र भारत अंक विहिन छन् । समुह चरणको अन्तिम खेलमा भारत र भुटानले खेल्नेछन ।
आजै हुने दोस्रो खेलमा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा नेपालसंग पराजित माल्दिभ्सलाई अघिल्लो चरण पुग्न बंगलादेशलाई हराउनैपर्ने दबाब छ । बंगलादेश सहज जित सहित उपाधि यात्राको थालनी गर्दैछ । उसलाई प्रतियोगिताको दाबेदार टोलीको रुपमा हेरिएको छ । आयोजक नेपालले समुह चरणको अन्तिम खेलमा भोली बंगलादेशसंग खेल्दैछ ।