पोखरा । सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर्सले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको खेलमा पारस खडकाको कप्तानीमा रहेको चितवन राइनोजलाई ७० रनले हराएर बुटवलले विजयी सुरुवात गरेको हो ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा बुटवलले दिएको १३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चितवनले १६ ओभर ५ बलमा अलआउट हुँदै ६५ रन बनाउन सक्यो ।
चितवनका लागि भुवन कार्कीले सर्वाधिक १९ रन जोडे । यस्तै कप्तान पारसले १० रन जोड्दा सन्नी पटेलले ९ रन जोडे । त्यस्तै शक्ति गौचनले ९ रन जोड्दा करण केसीले ७ रन बनाए ।
चितवनलाई सस्तैमा समेट्न बुटवलका कप्तान सोमपाल कामीले १३ रन खर्चेर ४ विकेट लिए । सोमपाल म्यान अफ दि म्याच समेत चुनिए । यस्तै ललित सिंह भण्डारीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले पुरै २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन जोडेको थियो । खराब सुरुवात गरेको बुटवलका लागि शंकर राना र सागर पुनले इनिङस सम्हालेका थिए ।
शंकरले ४८ र सागरले ४६ रन जोड्दै टिमको सम्मानजनक स्कोर तयार गरेको थियो । यस्तै सिद्दान्त लोहनीले अविजित १७ रन जोड्दा सोमपाल कामी ६ रनमा आउट भए । चितवनका करण केसीले २ विकेट लिदा राम नरेश गिरी र शक्ति गौचनले १/१ विकेट लिए ।
जितसंगै बुटवलले २ अंक जोडेको छ । यसअघि पोखरा पल्टनले २ अंक जोडिसकेका छन् ।
पीपीएलमा आजै हुने दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्स र दिपेन्द्र सिंह ऐरीको धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुनेछ ।