काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको निलम्बित कमिटिले अदालतमा दायर गरेको मुद्धा फिर्ता लिने औपचारिक निर्णय गर्दैछ । क्रिकेट विवाद समाधान गर्न अदालतको मुद्धा फिर्ता लिन अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गरेको आग्रह अनुसार क्यानको निलम्बित कमिटिले मुद्धा फिर्ताको तयारी गरेको हो ।
मुद्धा फिर्ताको औपचारिक निर्णय गर्न कमिटिले शनिबार दिउँसो क्यानको बोर्ड बैठक समेत बोलाएको छ । काठमाडौंको लाजिम्पाटमा बस्ने क्यानको बोर्ड बैठकले हाल सम्म भएका कामको समिक्षा गर्दै मुद्धा फिर्ताको औपचारिक निर्णय गर्ने महासचिव अशोकनाथ प्याकुरेलले खेलपाटीलाई बताए ।
'मु्द्धा फिर्ता लिने प्रक्रिया हामीले अघि बढाईसकेका छौ । आजको बोर्ड बैठकले त्यसको औपचारिक निर्णय गर्छ ।' प्याकुरेलले भने ।
बैठक मध्यान्नपछि मात्र सुरु हुनेछ । विभिन्न क्षेत्रबाट बोर्डका पदाधिकारी काठमाडौं आउने क्रममा रहेकाले दिउँसो मात्र बैठक सुरु हुने महासचिव प्याकुरेलको भनाई छ ।
क्यानको नयाँ विधान बनेपछि आईसीसीले क्रिकेटको निकासका लागि मुद्धा फिर्ता र तदर्थ कमिटि भंगलाई पहिलो शर्त बनाउदै आएको छ ।