पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो खेलमा सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टर्लविरुद्ध पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले टस जितेको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेको चितवनले पहिले बलिङ गर्ने निर्णय गरेको छ । केहि बेरमा सोमपालको टिम ब्याटिङको लागि मैदान उत्रनेछन् ।
आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । र, दुई टोलीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
चितवन र बुटवल दुवै टोली उत्कृष्ट खेलाडीहरुले भरिएको छ । कप्तान पारसको चितवनमा भेट्रान बलर तथा पुर्व खेलाडी शक्ति गौचन, राष्ट्रिय टोलीका सदस्यहरु अनिल कुमार साह, भुवन कार्की, करण केसी र आरिफ शेख जस्ता खेलाडी रहेका छन् ।
चितवनमा उमेर समूहमा उच्च प्रदर्शन गरिरहेका राम नरेश गिरी, हरि शंकर साह, विनोद लामा, सुमित महर्जन र सोनु तामाङ जस्ता टी-ट्वान्टीका लागि चाहिने खेलाडी छन् । यस्तै चितवनलाई भारतका सन्नी पटेल र समित पटेलको आगमनले थप बलियो बनाएको छ ।
यता, चितवनलाई रोक्न सोमपालको टिम बुटवलले राष्ट्रिय टिम र उमेर समूहमा चलेका खेलाडीहरु मैदान उत्राने छन् । बुटवललाई राष्ट्रिय टोलीबाट खेलिसकेका सिधान्त लोहनी, राष्ट्रिय टोलीका ललित सिंह भण्डारी, सागर पुन जस्ता खेलाडीलाई साथ रहेको छ ।
यस्तै उमेर समूहका साम्सद शेख, हरि चौहान, शंकर राना, पुरण बिक, हसिम अन्सारी, भिम सार्की, प्रकास केसी, अविनाश बोहोरा, नितेश थापा, बिपिन खत्री जस्ता खेलाडीको साथ रहेको छ । युएईका कप्तान रोहन मुस्तफा र चिराग सुरीको साथले बुटवल थप बलियो बनेको छ ।