पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा आज चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा हुलास काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा शरद भेषवाकरको टिम पोखरा पल्टनले विजयी सुरुवात गरिसकेको छ । शुक्रबार पोखराले सन्दीप लामिछानेको टिम विराटनगर टाईटन्सलाई ५८ रनले हराएको हो ।
शनिबार हुने पहिलो खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवनले सोमपाल कामीको बुटवलविरुद्ध खेल्नेछ । बिहान ९ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । र, दुई टोलीबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
चितवन र बुटवल दुवै टोली उत्कृष्ट खेलाडीहरुले भरिएको छ । कप्तान पारसको चितवनमा भेट्रान बलर तथा पुर्व खेलाडी शक्ति गौचन, राष्ट्रिय टोलीका सदस्यहरु अनिल कुमार साह, भुवन कार्की, करण केसी र आरिफ शेख जस्ता खेलाडी रहेका छन् ।
चितवनमा उमेर समूहमा उच्च प्रदर्शन गरिरहेका राम नरेश गिरी, हरि शंकर साह, विनोद लामा, सुमित महर्जन र सोनु तामाङ जस्ता टी-ट्वान्टीका लागि चाहिने खेलाडी छन् । यस्तै चितवनलाई भारतका सन्नी पटेल र समित पटेलको आगमनले थप बलियो बनाएको छ ।
यता, चितवनलाई रोक्न सोमपालको टिम बुटवलले राष्ट्रिय टिम र उमेर समूहमा चलेका खेलाडीहरु मैदान उत्राने छन् । बुटवललाई राष्ट्रिय टोलीबाट खेलिसकेका सिधान्त लोहनी, राष्ट्रिय टोलीका ललित सिंह भण्डारी, सागर पुन जस्ता खेलाडीलाई साथ रहेको छ ।
यस्तै उमेर समूहका साम्सद शेख, हरि चौहान, शंकर राना, पुरण बिक, हसिम अन्सारी, भिम सार्की, प्रकास केसी, अविनाश बोहोरा, नितेश थापा, बिपिन खत्री जस्ता खेलाडीको साथ रहेको छ । युएईका कप्तान रोहन मुस्तफा र चिराग सुरीको साथले बुटवल थप बलियो बनेको छ ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा जारी पीपीएल अन्तर्गत शनिबार हुने दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको काठमाडौं र दिपेन्द्र सिंह ऐरीको धनगढीबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह १:३० बजे सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
काठमाडौंलाई सुशान भारी, पृथु बास्कोटा र नरेश बुढाएर जस्ता सिनियर खेलाडीको साथ छ । यस्तै उमेर समूहमा नाम चलेका खेलाडीहरु पवन सर्राफ, अमर सिंह रौतेला, आदिल खान, अमित श्रेष्ठ, नन्दन यादव, सुमित झा लगायतका खेलाडी छन् ।
धनगढीमा भने युवा खेलाडीको बाहुल्यता रहेको छ । राष्ट्रिय टोलीका सदस्य दिलीप नाथसंगै मन्जित श्रेष्ठ, योगेन्द्र सिंह कार्की, सन्तोस भट्ट, रोबिन क्षेत्रि, सन्दीप सुनार,कमल सिंह ऐरी, सागर ढकाल, सन्दीप जोरा, निर्दोष अन्सारी, सौरभ खनाल, बिक्रम ठगुन्ना र सन्दीप रजाली जस्ता युवा खेलाडीको साथ रहेको छ ।
यस्तै इंग्ल्यान्डका दुई खेलाडी ड्यान लरेन्स र पिटर डेभिड ट्रेगो टिममा रहदा धनगढी बलियो बनेको छ ।