काठमाडौं । आगामी बर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेटको ट्रफी नेपाल आईपुगेको छ ।
'विश्व टुर'मा रहेको ट्रफी शुक्रबार नेपाल आईपुगेको हो । ट्रफीलाई शुक्रबार शान्तिको प्रतीक स्वयम्भूनाथ परिसरमा प्रदर्शनीमा राखिएको थियो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसिसी) की नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार विश्वकप ट्रफी नेपालमा चार दिन राखिनेछ ।
अब ट्रफीलाई शनिबार पोखरा क्रिकेट रंगशालामा प्रदर्शनीमा राखिनेछ । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलका लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ती पोखरामा रहेकाले त्यहाँ लैजान लागिएको हो ।
त्यस्तै, २८ गते आईतबार ट्रफीलाई काठमाडौंको चन्द्रागिरीलाई लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाईने कार्यतालिका रहेको छ । अन्तिम दिन २९ गते सोमबार प्रसंशकसंग ट्रफीको फोटो खिचाएर नेपाल भ्रमणको समापन गरिनेछ ।