पोखरा । घरेलु टोली पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा विराटनगर टाईटन्सलाई ५८ रनले हराएर पोखराले विजयी सुरुवात गरेको हो ।
पोखरा रंगशालामा पोखराले दिएको १९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभरमा ८ विकेट गुमाएर १३९ रन जोडन सक्यो ।
विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले ३०/३० रन जोडे । यस्तै एन्ड्रयु शुबिकशनले १४ रन जोड्दा कप्तान सन्दीप लामिछानेले पनि अविजित १४ रन जोडे ।पोखराका ललित राजवंशीले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभरमा ३ विकेट गुमाएर १९७ रन जोडेको थियो । निकै आक्रामक ब्याटिङ गरेको पोखराका लागि आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५२ बलमा ५ चौका र १ छक्कासहित ५२ रन जोडे ।
भारतीय खेलाडी रबि इन्दर सिंहले ४४ रन जोडे । बिनोद भण्डारीले ११ बलमा २ चौका र ५ छक्कासहित अविजित ४१ रन जोडे । कुशल भुर्तेल ३८ रनमा आउट हुँदा कप्तान शरद भेषवाकरले अविजित ७ रन जोडे ।
विराटनगरका लागि सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै शाहब आलमले १ विकेट लिए ।
जितसंगै पोखराले २ अंक जोडेको छ । र,पोखराले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ ।
खेलमा म्यान अफ दि म्याच पोखराका बिनोद भण्डारी चुनिए । खेलमा उत्कृष्ट क्याच प्रदीप ऐरीले प्राप्त गरे ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको योजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार चितवन राइनोज र बुटवल ब्लास्टर तथा काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन् ।
म्यान अफ दि म्याच - बिनोद/ तस्बिर:सुदर्शन रञ्जित
प्रतियोगिताको विजेताले २७ लाख पाउने छ । यस्तै उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।