पोखरा । सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा अहिले घरेलु टोली पोखरा पल्टन र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा घरेलु टोली पोखरा पल्टनले दिएको १९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको विराटनगरले पाँचौ विकेट गुमाएको छ । विराटनगरले पाँचौ विकेटका लागि राजु रिजाललाई ३० रनमा गुमाएको हो । राजुलाई ललित राजवंशीले क्याच आउट गराएका हुन् ।
विराटनगरले १२ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ८० रन जोडेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभरमा ३ विकेट गुमाएर १९७ रन जोडेको थियो । निकै आक्रामक ब्याटिङ गरेको पोखराका लागि आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५२ बलमा ५ चौका र १ छक्कासहित ५२ रन जोडे ।
भारतीय खेलाडी रबि इन्दर सिंहले ४४ रन जोडे । बिनोद भण्डारीले ११ बलमा २ चौका र ५ छक्कासहित अविजित ४१ रन जोडे । कुशल भुर्तेल ३८ रनमा आउट हुँदा कप्तान शरद भेषवाकरले अविजित ७ रन जोडे ।
विराटनगरका लागि सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै शाहब आलमले १ विकेट लिए ।
पीपीएलको पहिलो संस्करणको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । यसपटक विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको योजनामा हुने प्रतियोगिताको विजेताले २७ लाख पाउने छ । यस्तै उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।