काठमाडौं । नेपाली राष्ट्रिय टिमको कप्तानी निरु थापाले गर्ने भएकी छिन् । मैत्रिपुर्ण खेलका लागि चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी निरुले समाल्ने भएकी हुन ।
पछिल्ला समय नेपाली टिमको कप्तानी रेनुका नगरकोटी गर्दै आएकी थिईन् । ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले टोलीको कप्तानीमा समेत परिवर्तन गरेको छ ।
'नेपाली फुटबलमा सिनियर खेलाडीलाई कप्तानको जिम्मेवारी दिने प्रचलन गरेको छ । सोही आधारमा निरुले कप्तानीको जिम्मेवारी पाएकी हुन् । रेनुका नगरकोटी भन्दा निरु थापा सिनियर हुन् । यसैलाई हेरेर हामीले निरुलाई कप्तानको जिम्मेवारी दिएका हौ ।' नेपाली टिमका प्रमुख प्रशिक्षक हरी खड्काले बताए ।
यसअघि, सिनियरको आधारमा रेनुका नगरकोटीले नेपाली टिमको नेतृत्व गर्दै आएकी थिईन् ।
चीन भ्रमणमा निस्केको नेपाली टिमले त्यहाँ तीन मैत्रिपुर्ण म्याच खेल्नेछ । नेपाली टिम चीनबाट सिधै म्यानमार प्रस्थान गर्नेछ । नियमित कप्तान अनु लामा इन्जुरी भएपछि नेपाली टिमको कप्तानी नगरकोटीले समाल्दै आएकी थिईन् ।
निरु थापाले पहिलो पटक नेपाली टिमको कप्तानी समाल्ने अवसर प्राप्त गरेकी हुन् । पहिलो पटक नेपाली टिमको कप्तानी समाल्न पाउँदा खुसी रहेको उनले बताईन् । 'पहिलो पटक टिम समाल्ने अवसर पाएको छु । आशा छ, राम्रो गर्छु । टिमलाई जिताउने छु । सँगै आफ्नो प्रदर्शन पनि सुधार्नेछु ।' चीन उड्नु अघि उनले खेलपाटीसंग भनिन् ।
निरु घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्ने गर्छिन् ।