पोखरा। पर्यटकीय नगरी पोखरा । नेपाली खेलकुदको उर्बर भूमि । शाहसिक खेलकुदका लागि कहलिएको भूमि । खेलकुद पर्यटनका लागि प्रचुर सम्भावना बोकेको सहर ।
यहीँ सहरमा (आज) शुक्रबारबाट नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठुलो धनराशीको प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।
माछापुच्छ्रे हिमालको काख र फेवा तालको किनारमा क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले यो अवसर जुराएको हो । पहिलो संस्करणमा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको छ । र, प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टन र विराटनगर टाईटन्सले खेल्नेछन् ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा माछापुच्छ्रे हिमाललाई साक्षी राख्दै दुई राष्ट्रिय टोलीका सदस्य शरद भेषवाकर र सन्दीप लामिछानेका टिम मैदान उत्रनेछन् । जसमा हुनेछ, शरदको पोखरा र सन्दीपको विराटनगर । लक्ष्य हुनेछ - 'जित' अर्थात्, 'उपाधि यात्रा'
विजेताले सुन्दर ट्रफीसंगै क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशी २७ लाख नगद पाउनेछन् । उपविजेताको हातमा १० लाख हुनेछ । यस उपाधि जित्नका लागि पोखरा र विराटनगर पहिलो खेलमै जित निकाल्दै उत्कृष्ट सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
विराटनगरसंगको खेलअघि पोखराका कप्तान शरद भन्छन्, 'हामी घरेलु टिम हो । भोली राम्रो सुरुवात हुनेछ । हाम्रो तयारी राम्रो छ । राम्रो खेल्दै उपाधि घरमै राख्ने तयारी छ ।'
कप्तान शरदले घरेलु टोलीलाई घरेलु दर्शकको साथले थप उत्साह मिल्ने समेत बताए ।
'हामीलाई घरेलु समर्थकको साथ हुनेछ । पोखरामा क्रिकेट खेल पाउदा उत्साहित छौं । हामीले अक्सनबाट खेलाडी राम्रो अनुबन्ध गर्न सक्यौ, खेलाडीको प्रदर्शन नै जितको आधार हो ।' कप्तान शरदले थपे ।
घरेलु दर्शकको साथ पाउने पोखरालाई रोक्न विराटनगरलाई कठिन चुनौती हुनेछ । तर, विराटनगरका कप्तान सन्दीप घरेलु टोलीलाई रोक्न आफुसंग सन्तुलित टिम रहेको बताउछन् । प्रतियोगिताका लागि आफुले चाहेको जस्तै सन्तुलित टिम आफुसंग रहेको सन्दीपको भनाई छ ।
'यो निकै ठुलो लिग हो । र, पोखराको टिम निकै राम्रो छ । तर,हाम्रो टिम सन्तुलित छ । ब्याटिङ र बलिङमा राम्रो भईरहेको छ । हामीले खोजेको जस्तै टिम पाएका छौ,' सन्दीपले भने, 'भोलीको लागि तयार छौ, सकारात्मक नतिजाको आश राखेका छौं ।'
युवा लेग स्पिनर सन्दीप टी-ट्वान्टी क्रिकेटका किफायती बलर हुन् । इण्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिग खेलिसकेका सन्दीप अष्ट्रेलियन लिग बिग बास खेल्ने तयारीमा छन् । सन्दीपको जादु चलेमा पोखरालाई जित निकाल्न कठिन हुनेछ ।
तर, सन्दीपलाई भने टोलीका प्रत्येक सदस्यले राम्रो गर्नेमा विश्वस्त छन् । 'टिमको राम्रो नतिजाको लागि एक खेलाडीले मात्र गार्हो हुन्छ । म बाहेक सबै खेलाडीको प्रदर्शन महत्वपूर्ण हुन्छ । मलाई आशा छ, विदेशी खेलाडीले पनि राम्रो गर्नेछन्,' सन्दीपले भने ।