काठमाडौं । यु–१९ महिला राष्ट्रिय टिमका प्रशिक्षक हरिओम श्रेष्ठले एएफसी यु–१९ छनोटको दोस्रो खेलमा भारतविरुद्व आक्रमक फुटबल खेल्ने बताएका छन् ।
पहिलो खेलमा घरेलु टोली थाईल्याण्डसंग पराजय भोगेका प्रशिक्षक श्रेष्ठले दोस्रो खेल नेपालका लागि गर वा मरको अवस्थामा रहेको बताए । 'हामी गर वा मरको अवस्थामा छौ । हामी आक्रमक खेल खेल्नेछौ । कुनैपनि हालतमा जित निकाल्ने छौ ।' म्याचको अघिल्लो दिन उनले भने ।
भारत र नेपालको स्तर समान भएकाले दबाब महशु्श गर्नुपर्ने कुनै कारण नभएको उनको भनाई छ ।
'थाईल्याण्डसंग हारेपनि हाम्रो आत्मविश्वास उच्च छ । भारत भन्दा थाईल्याण्ड अलिकति माथिल्लो स्तरको टोली हो ।' उनले भने, 'तर नेपाल र भारत दुवै टोलीको स्तर समान छ । राष्ट्रिय टिमबाट खेलेका खेलाडी भएकाले मेरो टिम बलियो छ ।'
छनोटको पहिलो खेलमा थाईल्याण्डसंग हारेपछि नेपाली टिमलाई अघिल्लो चरणमा स्थान बनाउन भारतलाई जित्नैपर्ने दबाब छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो ।
'पाकिस्तानलाई १८–० ले पराजित गरेपनि नेपालविरुद्धको खेल सजिलो हुने छैन ।' भारतीय प्रशिक्षक एलेक्स एम्बोर्सले भने, 'नेपालले थाईल्याण्डसंग भिड्ने स्पिरिट देखाएको छ । तर हामी जितलाई हेरिरहेका छौ ।'
उनले उमेर समुहमा नतिजा भन्दा अनुभव हासिल गर्नु महत्वपुर्ण रहेको बताए । छनोट चरणको दोस्रो खेलमा नेपाल र भारत भोली भिड्दैछन् ।