पोखरा । घरेलु टोली पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि टिम तयार रहेको बताएको छ । पोखराले बिहिबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट सुरु हुने लिगका लागि टिमको तयारी पुरा भएको जनाएको हो ।
पोखराले प्रतियोगिताका लागि दुई विदेशी र दुई स्थानीय आइकनिक खेलाडी समेत सार्वजनिक गरेको छ । शरद भेषवाकरको कप्तानीमा रहेको पोखराले युएई र भारतबाट खेलाडी ल्याएको छ । पोखराले युएईबाट मोहम्मद नाभिद र भारतबाट रबी इन्दर सिंहलाई भित्र्याएको हो ।
सिंह टिममा सामेल भईसकेका छन् भने नाभिद केहि दिनमा आईपुग्ने पोखराका प्रशिक्षक बिनोद दासले जानकारी गराए । यस्तै पोखराले दिपेश खत्री र सुमन घिमिरेलाई स्थानीय आइकनिक खेलाडीको रुपमा अनुबन्धित गरेको जनाएको छ ।
दिपेश खत्री
पोखराले पहिलो खेलमा शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाईटन्ससंग खेल्दैछ । पोखरा र विराटनगरबीचको खेल पीपीएलको उद्घाटन खेल समेत हो ।
सुमन घिमिरे
प्रतियोगितामा पोखराले उपाधि जित्ने लक्ष्य लिएको छ । बिहिबार पत्रकार सम्मेलनमा बोल्दै कप्तान भेषवाकरले टिमको लक्ष्य उपाधि रहेको बताए ।
'हाम्रो तयारी राम्रो छ । हामी घरेलु टिम हो । राम्रो खेल्दै उपाधि घरमै राख्ने तयारी छ ।' कप्तान शरदले भने ।
यस्तै प्रशिक्षक दासले टिमको तयारी राम्रो भएको उपाधिका लागि टोलीले प्रतिस्पर्धा गर्ने बताए । उनले नेपाली क्रिकेट विकासका लागि यस्ता प्रतियोगिता आवश्यक रहेको समेत बताए ।
'हामी घरेलु टिम रहेको नाताले हाम्रो लक्ष्य उपाधि नै हो,' प्रशिक्षक दासले भने, 'नेपाली क्रिकेट आईसिसीबाट निलम्बनमा छ । यो अवस्थामा हाम्रो क्रिकेट विकासका लागि यस्ता प्रतियोगिता हुन् आवश्यक रहेको छ ।'