काठमाडौँ । पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी – ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी कार्तिकमा हुने भएको छ । आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कार्तिकमा हुने जानकारी गराएको हो ।
पोखरा क्रिकेट मैदानमा हुने प्रतियोगिता कार्तिक ९ देखि २० सम्म संचालन हुने क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बि लामाले जानकारी गराए । प्रतियोगितामा सहभागी हुने टोली फ्रेन्चाइज बेसमा नेपालका प्रमुख सहरको स्वामित्वमा रहने आयोजकले बताएको छ । प्रतियोगिताको लागि खेलाडी छनोट अक्सनबाट हुनेछ । टिम र अक्सनबारे पछि जानकारी गराईने पनि प्रबन्ध निर्देशक लामाले बताए ।
एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेल्ने ६ टोली र ३ नयाँ टोलीले यो प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको हुने प्रबन्ध निर्देशक लामाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रतियोगिताको लोगो समेत सार्वजनिक गरिएको थियो । प्रतियोगिताको लोगो नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटा र नेपाली टोलीका कप्तान पारस खड्काले सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै कप्तान पारसले नेपाली खेलाडीको अभ्यास र क्रिकेट बिकासको लागि यस्ता ठुला प्रतियोगिता महत्वपूर्ण रहेको बताए । यस्तै प्रशिक्षक टमटाले नेपाली क्रिकेट विकासमा प्रतियोगिताले थप टेवा पुग्ने बताए ।