पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको ट्रफी सार्वजनीक गरिएको छ । पोखराको फेवा तालको किनारामा कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको ट्रफी सार्वजनीक गरिएको हो ।
सहभागि ६ वटै टोलीका मार्की प्लेयर तथा कप्तानले ट्रफीलाई संयुक्त रुपमा सार्वजनीक गरेका थिए । ट्रफी सार्वजनीक गर्नु अघि प्रत्येक टोलीका कप्तानले फेवा तालमा डुङ्गामा बसेर आफ्नो टोलीका झण्डा सार्वजनीक गरेका थिए ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दै छन् । विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुजले पीपीएलमा खेल्नेछन् । सबै टोलीले आफ्नो मार्की खेलाडी र अक्सनबाट खेलाडी छनोट गरिसकेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाईटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसीले मान्यता प्रदान गरिसकेको छ ।
प्रतियोगिताको विजेताले २७ लाख, उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।