काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा पराजित भएपनि नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको बताएका छन् ।
थाईल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल आयोजक राष्ट्र थाईल्याण्डसंग ३ - ० ले पराजित भएको थियो । तर, प्रशिक्षक श्रेष्ठले थाईल्याण्डविरुद्धको खेलमा टिमले गरेको प्रदर्शनबाट खुसी रहेको बताए ।
'खेलाडी दबाबमा खेल्दा पहिलो गोल खान पुग्यौँ, थाईल्याण्डका खेलाडी आफै लड्दा पनि रेफ्रीले पेनाल्टी दियो,' प्रशिक्षक श्रेष्ठले भने, 'दोस्रो हाफमा हामीले उनीहरुविरुद्ध दबाब सिर्जना गरेका थियौं । नतिजाबाट सन्तुष्ट छु ।'
यस्तै प्रशिक्षक श्रेष्ठले अब नेपालको लागि भारतसंगको खेल महत्वपूर्ण हुने बताए । 'हाम्रो लागि भारतसंगको खेल महत्वपूर्ण छ । भारतलाई हराएमा हामी दोस्रो चरणमा पुग्ने सम्भावना हुन्छ,' प्रशिक्षक श्रेष्ठ भने ।
अब नेपालले दोस्रो खेलमा भारतसंग शुक्रबार र अन्तिम खेल पाकिस्तानसंग आइतबार खेल्नेछ । छनोटको समूह विजेता टोलीले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् ।
नेपालविरुद्ध जित निकालेपछि बोल्दै थाईल्याण्डका प्रशिक्षक अरुणले नेपालले दोस्रो हाफमा उत्कृष्ट खेलेको बताए ।
'दोस्रो हाफमा नेपालको प्रदर्शनले आश्चर्य भए । हाम्रो भन्दा नेपलली टोलीको फिटनेस धेरै राम्रो छ,' प्रशिक्षक अरुणले भने ।