काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघले काठमाडौंमा बिहिबार सुरु हुने साफ यु–१५ च्याम्पियनसिपको समय तालिका फेरबदल गरिएको छ । बुधबार बसेको म्याच कोर्डिनेशनको बैठकले प्रतियोगिताको खेलहरुको समय तालिका फेरबदल गरेको हो ।
मौषमलाई कारण देखाउदै समय थोरै तलमाथि गरिएको बैठकमा सहभागि एक अफिसियलले बताए । बैठकले उद्घाटन खेल पुर्व निर्धारितनै राखेर अन्य खेलको समय आधा देखि एक घण्टा घटार्इएकाे छ ।
प्रतियोगिताको पहिलो खेलमा भारत र पाकिस्तानले बिहिबार बिहान साढे ११ बजे खेल्दैछन् । भोलीनै हुने दोस्रो खेलमा नेपालले दिउँसो ३ बजे माल्दिभ्ससंग खेल्नेछ ।
त्यस्तै शुक्रबार पाकिस्तान र भुटानले बिहान साढे १० बजे र माल्दिभ्स र बंगलादेशले साढे २ बजे प्रतिस्पर्धा गर्ने समय निर्धारण गरिएको छ ।आईतबार बिहान साढे १० बजे भुटान र भारत तथा दिउँसो साढे २ बजे नेपाल र बंगलादेशले खेल्नेछन् ।
समुह एमा रहेको नेपालको टोलीमा बंगलादेश र माल्दिभ्स छन् । अर्को समुहमा भारतसहित भुटान र पाकिस्तान समावेश छन् । प्रतियोगिताको सबै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुनेछ । चौथो संस्करणको प्रतियोगिताको उपाधि जित्ने नेपालले लक्ष्य लिएको छ ।