काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल आयोजक राष्ट्र थाईल्याण्डसंग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल थाईल्याण्डसंग ३ - ० ले पराजित भएको हो ।
चोनबुरी स्टेडियममा पहिलो हाफको २० मिनेटभित्र २ गोल गर्दै उपाधि दाबेदार थाईल्याण्डले नेपाललाई सहजै हराएको हो । यता, थाईल्याण्डविरुद्ध अंक खोस्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।
पतारानन अपुचाईले खेलको नवौं मिनेटमा गोल गर्दै थाईल्याण्डलाई सुरुवाती अग्रता दिलाईन । त्यसपछि खेलको १७ औं मिनेटमा पेनाल्टीमा टिप्क्रिताले गोल गर्दै थाईल्याण्डलाई २ - ० को अग्रता दिलाईन् ।
दोस्रो हाफमा थाइल्याण्डले थप एक गोल गर्यो र थाईल्याण्डसंग नेपाल ३ - ० ले पराजित भयो । खेलको इन्जुरी समयमा थाईल्याण्डकी सिरीविपा जनतारकले गोल गर्दै थाईल्याण्डलाई ३ - ० को सहज जित दिलाईन् ।
अब नेपालले दोस्रो खेलमा भारतसंग शुक्रबार र अन्तिम खेल पाकिस्तानसंग आइतबार खेल्नेछ । छनोटको समूह विजेता टोलीले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् ।
आगामी अप्रिलमा हुने दोस्रो चरणको छनोटमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसबाट ४ टोलीले एएफसी यू-१९ महिला च्याम्पियनसिप खेल्नेछ । एएफसी यू-१९ महिला च्याम्पियनसिप अर्को बर्ष थाइल्याण्ड मै आयोजना हुनेछ ।
च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया छनोट भईसकेका छन् ।