काठमाडौं । पोखरामा शुक्रबारबाट सुरु हुने नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले नेपाली क्रिकेट इतिहासकै सर्वाधिक रकमको पुरस्कार पाउने भएका छन् ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताको विजेताले २७ लाख पाउने जानकारी गराएको हो । र, यो नेपाली क्रिकेट इतिहासकै सर्वाधिक धेरै पुरस्कार राशी हो ।
यस्तै उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।
यस्तै प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट (एक्स्टेप, सुबीसु, आदि) ५ हजार बराबरको गिफ्ट विभिन्न ह्याम्परप्राप्त गर्नेछन् । पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।
यसबाहेक प्रत्यक खेलमा क्लियर टिभी क्लियर क्याच विजेताले वार्षिक सुबीसुको प्रिमियम प्याकेज प्राप्त गर्नेछन् । साथसाथै हरेक खेलमा सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्नेले सुबीसु फास्टेस्ट ५० विजेताले सुबीसुको तर्फबाट १ वर्षका लागि हाइ स्पिड इन्टरनेट सुविधा पाउनेछन् ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दै छन् । पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । सबै टोलीले आफ्नो मार्की खेलाडी र अक्सनबाट खेलाडी छनोट गरिसकेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाईटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसीले मान्यता प्रदान गरिसकेको छ ।
पीपीएलको मुख्य प्रायोजक नमस्ते प्रिमियम लागर बियर रहेको छ । यस्तै प्रतियोगिताको पावर्ड बाइमा ग्रान्डमास्टर त्रिपल एक्स रम रहनेछ ।