काठमाडौं । फुटबल विकासका लागि नेपाल र विश्वकप आयोजक राष्ट्र कतारबीच सहकार्य हुने भएको छ । कतारले सन् २०२२ को विश्वकप आयोजना गर्दैछ ।
दुवै राष्ट्रको फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल एसोसिएसन (क्युएफए) बीच सम्झौता भएको छ । एन्फा र क्युएफएले पाँच बर्षे सम्झौता गरेको हो ।
क्युएफएको मुख्यालय दोहामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा र लिग कमिटिका सयोजक विज्ञान राज शर्मा हाल दोहामा रहेका छन् । यसअघि एन्फाले जापान फुटबल एसोसिएसन (जेएफए) संग सहकार्य गर्न सम्झौता गरिसकेको छ ।
सम्झौतासंगै दुई राष्ट्रबीच म्यानेजमेन्ट, टेक्निकल, प्रशिक्षक, रेफ्री र खेलाडी विकासका लागि सहयोग आदान प्रदान हुनेछ । फुटबल विकासका लागि कतारले नेपाललाई विज्ञ तथा प्रविधिमा सहयोग गर्नेछ ।
यस्तै एन्फा र क्युएफएबीच विभिन्न १७ बिषयमा सहकार्य हुनेछ । दुवै संघबीच व्यवस्थापन, मार्केटिङ,स्पोर्ट्स फेसिलिटिज, अध्ययन तथा अनुसन्धान, टेक्निकल कोचिङ, रेफ्री, फुटबल म्यानेजमेन्ट र टेक्निकल डिरेक्टर, खेल विकास र प्रतिभाशाली खेलाडी उत्पादन, महिला फुटबल, युथ फुटबल, फुटसल, स्पोर्ट्स साइन्स, स्पोर्ट्स मेडिसिन र फुटबल अनुसन्धान लगायतका बिषयमा सहकार्य हुनेछ ।
यस्तै दुवै राष्ट्रबीच मैत्रीपूर्ण फुटबल खेलका लागि समेत छलफल भईरहेको एन्फाले जनाएको छ ।