एजेन्सी । घरेलु टोली श्रीलंकाले इंग्ल्यान्डविरुद्धको पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा जित निकालेको छ । बिहिबार राति भएको खेलमा श्रीलंकाले इंग्ल्यान्डलाई डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा २१९ रनले पराजित गरेको हो ।
इंग्ल्यान्डलाई अन्तिम खेलमा पराजित गरेपनि श्रीलंकाले सिरिज ३ - १ ले गुमाएको छ । शनिबार भएको चौथो एकदिवसीयमा श्रीलंकालाई डिएलकै आधारमा १८ रनले हराएर इंग्ल्यान्डले सिरिज आफ्नो बनाएको थियो ।
कोलम्बोमा श्रीलंकाले दिएको ३६७ रनको लक्ष्यसहित इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाले प्रभावित गरेको थियो । बर्षाले खेल रोकिनुअघि इंग्ल्यान्डले २६ ओभर १ बलमा ९ विकेट गुमाएर १३२ रन जोडेको थियो ।
त्यसपछि खेल भएन र डीएलको आधारमा इंग्ल्यान्डले २६ ओभर १ बलमा ३५२ रनको लक्ष्य पाएपछि श्रीलंकाले फराकिलो जित निकाल्न सफल भयो । एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डको यो सर्वाधिक ठुलो अन्तरको हार हो ।
इंग्ल्यान्डका लागि बेन स्टोक्सले ६७ तथा मोईन अलीले ३७ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । श्रीलंकाका अकिला धनन्जयले ४ तथा दुश्मान्था चामिराले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभरमा ६ विकेट गुमाएर ३६६ रन जोडेको थियो । श्रीलंकाका लागि निरोशन डीक्वेलाले ९५ तथा कप्तान दिनेश चण्डीमालले ८० रन जोडे । त्यस्तै कुसल मेन्डिसले ५६ रन बनाए । इंग्ल्यान्डका टम कुरन र मोइन अलीले २/२ विकेट लिए ।
अब दुई टोलीले एक टी-ट्वान्टी र तीन खेलको टेष्ट सिरिज खेल्ने छन् ।