काठमाडौं । भारतको प्रतिष्ठित फुटबल प्रतियोगिता गभर्नस गोल्डकपमा नेपालको ए डिभिजन क्लब सशस्त्र प्रहरी बल (एपीएफ) ले आज प्रतिस्पर्धा गर्दैछ ।
प्रि क्वार्टरफाईनलको खेलमा एपीएफले भारतको जर्ज टेलिग्राफसंग खेल्न लागेको हो । खेल स्थानिय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।
करिब पाँच बर्षपछि सुरु भएको सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेल खेलेर एपीएफ सिक्किम लागेको हो । लिगको पहिलो खेलमा हिमालयन शेर्पासंग बराबरी खेल्दै एपीएफले अंक बाँडेको थियो ।
राष्ट्रिय टिमका खेलाडी सहित सिक्किम पुगेको एपीएफले फाईनलसम्म पुग्ने अपेक्षा राखेको छ । खेलको पुर्वसन्ध्यामा एपीएफ प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको फाईनल पुग्ने आशा राखेको बताएका थिए ।
प्रशिक्षक तामाङले अघिल्ला संस्करणमा नेपाली टिमले राम्रो प्रर्दशन गरेको उल्लेख गर्दै विभागीय टिम एपीएफले समेत उत्कृष्ट प्रर्दशन गर्ने दाबी गरेका छन् ।
‘यसअघि नेपाली टिमले राम्रो प्रर्दशन गरेको छ । घरेलु टोलीलाई स्थानीय समर्थन धेरै हुन्छ । हामीलाई दबाब समेत हुन्छ । तर तीनै प्रशंसकको अगाडी राम्रो प्रर्दशन गर्ने अपेक्षा गरेका छौ ।’ उनले भनेका छन् ।
प्रतियोगिताका लागि एपीएफ राम्रो तयारी गरेको बताउदै प्रशिक्षक तामाङ सोही अनुसार प्रर्दशन गर्ने उल्लेख गरे । ‘राष्ट्रिय टिमबाट खेलेका खेलाडी छन् । जुनियर खेलाडी समेत छन् । खेलाडीले त्यही अनुसार तयारी गरेका छन् ।’ तामाङले थपे ।
एपीएफले पहिलो पटक गभर्नस गोल्डकप खेल्न लागेको हो । क्लबले सहिद स्मारक ए डिभजिन लिगलाई ध्यानमा राखेर तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
१२ टोली सहभागि प्रतियोगिता नोभेम्बर ३ सम्म सिक्किममा आयोजना हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता खेल्न सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र एपीएफ क्लबलाई सिक्किम पठाउने निर्णय गरेको थियो ।
सिक्किम फुटबल संघले आयोजना गर्ने प्रतियोगिता करिब ३ दशक अगाडीदेखि सञ्चालन हुदै आएको छ । नेपालको न्युरोड टिम एनआरटी र थ्रीस्टारले प्रतियोगिताको उपाधि जितिसकेका छन् ।