काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले आज आयोजक राष्ट्र थाईल्याण्डसंग खेल्दैछ । बलियो र घरेलु टोली थाईल्याण्डविरुद्ध नेपालले चोनबुरी स्टेडियममा प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल नेपाली समय अनुसार साँझ सवाँ ६ बजे सुरु हुनेछ । थाइल्याण्ड नेपाली यू–१९ टोलीका लागि नौलो प्रतिद्वन्द्वी हो ।
थाईल्याण्डलाई यस समूहको उपाधि दाबेदार टिम मानिएको छ । तर, दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको नेपालले पहिलो खेलमा थाईल्याण्डविरुद्ध कडा चुनौती दिने तयारी गरेको छ ।
थाईल्याण्डविरुद्ध नेपाल सके जित नत्र बराबरी खेल्ने योजनामा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले नेपालको दोस्रो चरण पुग्ने सम्भावना बलियो रहेको बताउदै थाईल्याण्डविरुद्ध अंक खोस्ने बताए ।
'पहिलो खेल सधै कठिन हुन्छ । त्यसमाथि थाईल्याण्ड निकै बलियो टोली हो तर हामी बराबरीको लागि खेल्नेछौं ।' प्रि म्याच कन्फरेन्समा प्रशिक्षक श्रेष्ठले भनेका छन् ।
प्रशिक्षक श्रेष्ठले थाईल्याण्डको खेल आफुले बिश्लेषण गरिसकेको बताउदै उनीहरुको फरवार्डलाई रोक्न रणनीति तयार गरेको बताए । प्रशिक्षक श्रेष्ठले नेपालले स्ट्राइकर रेखा पौडेललाई मुख्य हतियार बनाउने बताए । उनले खेलाडीमा इन्जुरीको समस्या नरहेको समेत बताए ।
'युट्युबबाट मैले थाईल्याण्डको खेल हेरेको थिए । उनीहरुको विंगर र फरवार्ड निकै राम्रा छन् ।' श्रेष्ठले भने, 'मैले उनीहरुलाई रोक्ने रणनीति तयार गरेको छु । हाम्रो टिम सन्तुलित छ । मलाई लाग्छ भोली थाईल्याण्डलाई पनि कठिन हुनेछ ।'
प्रशिक्षक श्रेष्ठले थाईल्याण्ड आयोजकको रुपमा दोस्रो चरणको लागि छनोट भए नेपाल छनोटको उपविजेता बन्दै अर्को चरणमा पुग्ने सम्भावना बलियो रहेको बताए । तर, प्रशिक्षक श्रेष्ठले भारतविरुद्धको खेल समेत कठिन हुने बताए ।
छनोटको समूह ’बि’ मा रहेको नेपालले थाईल्याण्डपछि भारत र पाकिस्तानसंग खेल्नेछ । नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ र अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ । छनोटको समूह विजेता टोलीले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् ।
नेपाली टोलीमा भुटानमा सम्पन्न महिला यू–१८ साफ च्याम्पियनसिप खेलेका खेलाडीको बाहुल्यता छ । यस्तै नेपाली टोलीमा तीन खेलाडी राष्ट्रिय टोलीका सदस्य छन् ।
प्रशिक्षण श्रेष्ठले गोलकिपर अन्जना राना मगर, कप्तान सरु लिम्बु र मिडफिल्डर मन्जली योन्जन टिममा रहनु टिमका लागि सबल पक्ष रहेको बताए । तीनै खेलाडी राष्ट्रिय टोलीमा समेत रहेका छन् ।
कप्तान सरु लिम्बुले थाईल्याण्डविरुद्ध जित्ने लक्ष्यसहित मैदान उत्रने बताईन् ।
'थाईल्याण्ड कठिन टिम हो तर हामी जितका लागि खेल्नेछौं ।' उनले भनिन्, 'कठिन टोलीविरुद्ध सतर्क भएर खेल्नेछौ । प्रशिक्षकको रणनीति अनुसार खेल्ने छौ । मलाई विश्वास छ हामी जित्ने छौं ।'
नेपाली टोली :
गोलकिपर – अन्जना राना मगर, उषा नाथ, कविता राई ।
डिफेन्डर – निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान, पुजा राना मगर ।
मिडफिल्डर – सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती ।
स्ट्राइकर – रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा ।
मुख्य प्रशिक्षक – हरि ओम श्रेष्ठ ।
सहायक प्रशिक्षक – प्रकास बैद्य ।
गोलकिपर प्रशिक्षक – अस्मिता खवास ।