काठमाडौं । पोखरामा यसै साताबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फ्यान्टासी लिग हुने भएको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले मंगलबार प्रविधिको माध्यमबाट खेलिने प्रतियोगिताको फ्यान्टासी लिग संचालन हुने जानकारी गराएको हो ।
लेट्जक्रिकेटसँगको सहकार्यमा पीपीएलको फ्यान्टासी लिग हुने आयोजकले जनाएको छ । क्रिकेट समर्थकहरुले https://fantasy.ppl-t20.com मा लगइन गरेर फ्यान्टासीमा सहभागिता जनाउन सक्नेछन् ।
खेलकुद, टेक्नोलोजी र परिकल्पनाको मिश्रण हो फ्यान्टासी । फ्यान्टासीमा आफ्नो कल्पना अनुरुपका खेलाडीहरु समेटी कुनै एक प्रतियोगिताको लागि एउटा टिम बनाईन्छ । टिम बनाएपछि टिमका खेलाडीले प्रतियोगितामा गरेको प्रदर्शन अनुसारको अंक पाउने गर्छ ।
प्रतिस्पर्धीले टिम बनाउंदा ब्याट्सम्यान र बलर समान चार चार तथा एक विकेटकिपर र एक अलराउन्डर अनिवार्य राख्नुपर्ने हुन्छ । यसरी १० खेलाडी हुन्छन् र प्लेईङ एघार मध्येको बांकी १ खेलाडी भने आफ्नो ईच्छा अनुसार राख्न पाईन्छ । यसरी ११ जनाको टिम बनाउंदा प्रतियोगिताको एउटै क्लबका ६ भन्दा धेरै खेलाडी भने राख्न पाईंदैन र यहांलाई दिईएको राशि पुग्ने गरी मिलाएर टिम बनाउनुपर्ने हुन्छ ।
फ्यान्टासीमा विजयी हुने खेलाडीलाई पीपीएलमा सहभागी टोलीका मार्की प्लेयर्सद्वारा हस्ताक्षर गरिएको क्रिकेट ब्याट पुरस्कार स्वरुप प्रदान गरिनेछ ।