काठमाडौं । ए डिभिजन क्लब शसत्र प्रहरी बल एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले सिक्किममा सुरु हुने गभर्नस गोल्डकप फुटबलमा फाईनल पुग्ने आशा राखेको बताएका छन् ।
प्रतियोगिताको अघिल्लो दिन सञ्चारकर्मीसंग प्रशिक्षक तामाङले अघिल्ला संस्करणमा नेपाली टिमले राम्रो प्रर्दशन गरेको उल्लेख गर्दै विभागीय टिम एपीएफले समेत उत्कृष्ट प्रर्दशन गर्ने बताए ।
‘यसअघि नेपाली टिमले राम्रो प्रर्दशन गरेको छ । घरेलु टोलीलाई स्थानीय समर्थन धेरै हुन्छ । हामीलाई दबाब समेत हुन्छ । तर तीनै प्रशंसकको अगाडी राम्रो प्रर्दशन गर्ने अपेक्षा गरेका छौ ।’ उनले भने ।
विभागीय टिम एपीएफले बुधबार इन्डियाको जर्ज टेलिग्राफसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । एपीएफले प्रि क्वार्टरफाईनलको खेलमा भारतीय टोलीसंग भिड्न लागेको हो ।
प्रतियोगिताका लागि एपीएफ राम्रो तयारी गरेको बताउदै प्रशिक्षक तामाङ सोही अनुसार प्रर्दशन गर्ने उल्लेख गरे । ‘राष्ट्रिय टिमबाट खेलेका खेलाडी छन् । जुनियर खेलाडी समेत छन् । खेलाडीले त्यही अनुसार तयारी गरेका छन् ।’ तामाङले थपे ।
एपीएफले पहिलो पटक गभर्नस गोल्डकप खेल्न लागेको हो । क्लबले सहिद स्मारक ए डिभजिन लिगलाई ध्यानमा राखेर तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
१२ टोली सहभागि प्रतियोगिता नोभेम्बर ३ सम्म सिक्किममा आयोजना हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता खेल्न नेपालबाट मनाङ र एपीएफ क्लबलाई पठाउने निर्णय गरेको थियो ।
सिक्किम फुटबल संघले आयोजना गर्ने प्रतियोगिता करिब ३ दशक अगाडीदेखि सञ्चालन हुदै आएको छ । नेपालको न्युरोड टिम एनआरटी र थ्रीस्टारले प्रतियोगिताको उपाधि जितिसकेका छन् ।