काठमाडौं । एक्स्पर्ट धनगढी ब्लुजले पोखरामा यसै साताबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
पीपीएलको फ्रेन्चचाइज टिम धनगढीले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमको तयारी पुरा भएको जनाएको हो । यस्तै धनगढीले प्रतियोगिता खेल्ने खेलाडीहरु समेत सार्वजनिक गरेको छ । धनगढीले अक्सनबाट १३, दुई आइकनिक र दुई विदेशी खेलाडी सार्वजनिक गरेको हो ।
नेपाली राष्ट्रिय टोलीका सदस्य दिपेन्द्र सिंह ऐरी मार्की प्लेयर रहेको धनगढीले विदेशी कोटामा इंग्ल्यान्डका खेलाडी ल्याएको छ । पीपीएलका लागि धनगढीले इंग्ल्यान्डका ड्यान लरेन्स र पिटर डेभिड ट्रेगोलाई अनुबन्ध गरेको हो ।
दुवै खेलाडी केहि दिनमा नेपाल आइपुग्ने धनगढीका प्रशिक्षक मनोज कटवालले जानकारी गराए । यसअघि धनगढीले पाकिस्तानका उमेद आसिफलाई अनुबन्ध गर्ने बताएको थियो । तर, अन्तिम समयमा धनगढीले दुवै खेलाडी इंग्ल्यान्डबाट ल्याएको हो ।
लरेन्स इन्ग्लिश ब्याट्सम्यान हुन् । २१ बर्षिय लरेन्स एक्सेस काउन्टी क्रिकेट क्लबबाट खेल्ने गर्छन । उनले पहिलो श्रेणीको क्रिकेट खेलिसकेका छन् । ३७ बर्षिय पिटर अलराउन्डर हुन् । सोमेरसेट क्रिकेट क्लबबाट खेल्ने पिटरले पहिलो श्रेणीको क्रिकेट खेलिसकेका छन् ।
धनगढीले आइकनिक खेलाडीको रुपमा यू-१९ टोलीका सुबेन्धु पाण्डे र अरुण सिंह ऐरीलाई अनुबन्ध गरेको छ ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजनामा हुने पीपीएल क्रिकेट यहिँ शुक्रबारबाट आगामी कार्तिक २० सम्म पोखरा रंगशालामा हुँदैछ । धनगढीले पहिलो खेल काठमाडौं रोयल्ससंग कार्तिक ११ गते खेल्ने छ ।
एक्स्पर्ट धनगढी ब्लुज:
मार्की खेलाडी : दिपेन्द सिंह ऐरी
खेलाडी : मन्जित श्रेष्ठ, योगेन्द्र सिंह कार्की, सन्तोस भट्ट, रोबिन क्षेत्रि, सन्दीप सुनार, कमल सिंह ऐरी, दिलीप नाथ, सागर ढकाल, सन्दीप जोरा, निर्दाेश अन्सारी, सौरभ खनाल, बिक्रम ठगुन्ना, सन्दीप रजाली
विदेशी खेलाडी : ड्यान लरेन्स , पिटर डेभिड ट्रेगो
आइकनिक खेलाडी :सुबेन्धु पाण्डे , अरुण सिंह ऐरी
प्रशिक्षक : मनोज कटवाल
टिम मालिक : सञ्जिव शर्मा र बद्री अर्याल
धनगढीका खेलहरु :
कार्तिक १० – १ः१५ बजे – कोठमाडौं रोयल्स विरुद्ध धनगढी ब्लुज
कार्तिक ११ – ९ः०० बजे – विराटनगर टाइटन्स विरुद्ध धनगढी ब्लुज
कार्तिक १४ – ९ः०० बजे – चितवन राईनोज विरुद्ध धनगढी ब्लुज
कार्तिक १५ – १ः१५ बजे – धनगढी ब्लुज विरुद्ध बुटवल ब्लास्टर्स
कार्तिक १६ – ९ः०० बजे – पोखरा पल्टन विरुद्ध धनगढी ब्लुज