एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । मंगलबार राति सकिएको खेलमा आर्सनलले घरेलु मैदानमा लेस्टरलाई ३–१ गोल अन्तरले हराएको हो ।
आर्सनलको जितमा मेसुट ओजिल नायक रहे । उनले प्रिमियर लिगमा उत्कृष्ट मिडफिल्डरको रुपमा आफुलाई प्रस्तुत गर्दै कीर्तिमानी लगातार दसौ जित दिलाए । ओजिलले एक तथा पियरे एमिरिक औबमियाङले दुई गोल गरे ।
खेलेको ३१ औ मिनेटमा लेस्टरले आत्मघाति गोलबाट खेलमा अग्रता लिएको थियो । वेन चिलवेलको क्रस हेक्टर बेलिरिनलाई लागेर गोलमा परिणत भएपछि लेस्टरले खेलमा अग्रता बनाएको थियो ।
ओजिलले ४५ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै औबमियाङले आर्सनललाई सहज जित दिलाए । ६३ औ मिनेटमा पहिलो गोल गरेका उनले ६६ औ मिनेटमा दोस्रो गोल गरे । त्यो दुवै गोलको अवसर ओजिलले सिर्जना गरेका थिए ।
जितपछि आर्सनल ९ खेलबाट २१ अंक सहित चौथो स्थानमा उक्लियो । लेस्टर १२ अंक सहित ११ औ स्थानमा समेटियो ।