काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिग 'बिग बास' खेल्ने भएका छन् ।
सन्दीपले मेलबर्न स्टार्सबाट 'बिग बास' खेल्ने भएका हुन् । क्रिकेट वेबसाइट क्रिकइन्फोको अनुसार सन्दीपले मेलबर्न स्टार्ससंग सम्झौता गरेका छन् ।
हालै अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दीप डिसेम्बर १९ बाट सुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन् ।
सन्दीप डिसेम्बर १० मा टिममा सामेल हुनेछन् । त्यसपछि सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन् । बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् ।
त्यसपछि सन्दीप बिग बासका लागि पुन अष्ट्रेलिया फर्कनेछन् । बिग बास लिग फेब्रुवरी १७ सम्म हुनेछ ।
यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन सवर्वस् डिस्ट्रिक क्लवबाट २०१६–१७ को सिजनको प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए । सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए ।
१८ बर्षिय सन्दीप यो सिजन निकै व्यस्त बनेका छन् । यसै साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगमा विराटनगरको मार्की खेलाडी बनेका सन्दीपले इन्डियन प्रिमियर लिगमा (आईपीएल) दिल्ली डेयरडेभिल्सबाट यसै सिजन खेलेका थिए ।
दिल्लीमा सनसनीपूर्ण डेब्यु गर्दै ३ खेलमा ५ विकेट लिएका सन्दीपले त्यसपछि ग्लोबल टी २० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए ।
त्यस्तै क्यारेबियन प्रिमियर लिग (सीपीएल) सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेल कौशल प्रदर्शन गरेका सन्दीपले यसै साता सम्पन्न अफगानिस्तान प्रिमियर लिगमा एक खेल खेलेका थिए ।