एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
स्काई स्पोर्ट्सका अनुसार टिमको निरन्तर खराब प्रदर्शन कायम रहेपछि रियलले प्रशिक्षक लोपेटेगुईलाई बर्खास्त गर्ने तयारी गरेको जनाएको छ ।
यसै सिजन रियलका प्रशिक्षक नियुक्त भएका लोपेटेगुई १२ खेलपछि नै बर्खास्तमा पर्न लागेको स्काई स्पोर्ट्सले दाबी गरेको छ ।
प्रशिक्षक जिनेदान जिदानले क्लब छाडेपछि रुस विश्वकप अघि लोपेटेगुई रियलको प्रशिक्षक नियुक्त भएका थिए । जतिबेला उनी स्पेनिस टिमको मुख्य प्रशिक्षक रहेका थिए । तर, रियलको प्रशिक्षक बनेलगत्तै स्पेनले लोपेटेगुईलाई स्पेनिस टोलीको प्रशिक्षकबाट बर्खास्त गरेको थियो ।
५२ बर्षीय पुर्व स्पेनिस प्रशिक्षक लोपेटेगुईले रियलबाट सुखद सुरुवात गरेका थिए । विश्वकप लगत्तै स्पेनिस सुपर कप अन्तर्गत एट्लेटिको मड्रिडविरुद्ध ४ – २ को जित निकाल्दै प्रशिक्षक लोपेटेगुईले सुखद सुरुवात गरेका थिए ।
तर, पछिल्लो १२ खेलसम्म आईपुग्दा लोपेटेगुईको प्रशिक्षणमा रियलले मात्र ५ जित निकालेको छ । सबैखाले प्रतियोगिता गरी पछिल्लो पाँच खेलमा रियलले १ बराबरीको खेल्दा ४ खेल गुमाएको छ ।
ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल घरेलु मैदानमै लेभान्टेसंग २ – १ ले पराजित भएको थियो । त्यसअघि अलाभेससंग १ – ० को हार बेहोरेको थियो । लेभान्टेसंगको एक गोलसंगै रियलले ४८१ मिनेटमा मात्र एक गोल गर्न सकेको थियो ।
घरेलु मैदानमा लेभान्टेविरुद्धको हार रियलको लगातार तेस्रो हार समेत हो । लेभान्टेसंगको हारसंगै रियललाई प्रशिक्षक लोपेटेगुईलाई बर्खास्त गर्न थप बल पुगेको बताईएको छ । स्पेनिस ला लिगा रियल शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले पछाडी छ ।
यस्तै साबिकको विजेता रियलले च्याम्पियन्स लिगमा समेत उच्च प्रदर्शन गर्न सकेको छैन । समूह चरण अन्तर्गत पछिल्लो खेलमा रियल रुसको सीएसकेए मस्कोसंग १ – ० ले पराजित भएको थियो ।
रियलले अब च्याम्पियन्स लिग अन्तर्गत भिक्टोरिया प्लेजनसंग आगामी बुधबार खेल्दैछ । त्यसलगत्तै आइतबार रियलले सिजनको पहिलो एल क्लासिको भिडन्तमा बार्सिलोनासंग भिड्दैछ ।
यी दुई खेलमा रियलको प्रशिक्षकमा लोपेटेगुई रहने वा नरहने तय भने भएको छैन । तर, अन्तर्राष्ट्रिय संचार माध्यमले रियलले लोपेटेगुईलाई बर्खास्त गर्दै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होलाई टिमको जिम्मा लगाउने सम्भावना रहेको जनाएका छन् ।